धरानमा जेठ २६ गतेदेखि जारी महिला/ पुरूष कुराश राष्ट्रिय प्रतियोगिताको फाइनल स्पर्धामा आइतबार १२ स्वर्णका साथ लुम्बिनी प्रदेशले पहिलो उपाधि हात पारेको छ । लुम्बिनीले १२ स्वर्ण पदकसहित ६ कास्य र ९ रजत पदक हात पारेको हो ।
प्रतियोगिताको दोस्रो उपाधि ४ स्वर्ण, ३ रजत पदकसहित विभागीय टोली नेपाल आर्मीले हात पारेको छ । यस्तै तेस्रो उपाधि विजेता सुदुरपश्चिम प्रदेशले ३ स्वर्ण, १ कास्य र ४ रजत पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशले ३ कास्य र ४ रजत पदक प्राप्त गरेको छ । यस्तै बागमती प्रदेशले ५ कास्य र ९ रजत, मधेस प्रदेशले १ कास्य र ५ रजत प्राप्त गरेको छ भने कोशी प्रदेशले ७ रजत पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ २५ केजी तौल समूहका सुजित पासवान उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ २५ केजी तौल समूहकै प्रतीक्षा केसी उत्कृष्ट भइन् ।
तीन विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिससहित सात प्रदेशका खेलाडीले प्रतियोगितामा स्पर्धा गरेका थिए ।
विजेतालाई कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री राजेन्द्र राई, अन्तर्राष्ट्रिय कुराश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर, प्रतियोगिता संयोजक तथा नेपाल कुराश एसोसियसनका वरिष्ठ उपाध्यक्ष जीवन राई, धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायतले मेडल तथा उपाधि प्रदान गरे ।
धरान १३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय कबर्डहलमा आयोजित तीन दिने प्रतियोगितामा कुल एक सय खेलाडीले १९ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गरेका थिए ।