कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र राईले आफू दोहोर्याएर मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन् । प्रदेशमा एमाले नेतृत्वका मुख्यमन्त्री अल्पमतमा परेको अवस्था र माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफूलाई दाबी गरिरहेको अवस्थामा नेकपा एसका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित राईले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
धरानमा आयोजित राष्ट्रिय कुराश प्रतियोगिताको प्रमुख आतिथ्यता ग्रहण गर्न आइतबार धरान पुगेका निवर्तमान मुख्यमन्त्री राईले यस अघि आफूले १४ महिना मुख्यमन्त्री हुने अवसर प्राप्त गरेका बेला अगाडिका सरकारको तुलनामा खेलकुद क्षेत्रलाई विकास गर्न रकम विनियोजन गरेको बताए । उनले प्रदेश खेलकुद बोर्डका सदस्य सचिवसहित पदाधिकारीलाई नियुक्त गरेको समेत बताए ।
‘म दोहोर्याएर फेरि पनि मुख्यमन्त्री हुने सम्भावनाहरु पनि छन्, त्यस्तो अवस्थामा कुराश खेलको विकासका लागि चाहे समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारको तर्फबाट मैले निर्वाह गर्ने भूमिकामा कुनै कमि राख्ने छैन ।’ निवर्तमान मुख्यमन्त्री राईले भने ।
उनले ऐन–कानुनले पनि खेलकुदलाई अझै साँघुरो बनाएको बताए । प्रदेशको खेलकुदको आर्थिक कारोबार अझै पनि मन्त्रालयले नै गरिरहेको सन्दर्भ उल्लेख गर्दै निवर्तमान मुख्यमन्त्री राईले खेलकुद मन्त्रालयको नियन्त्रणमा रहेको र ऐनकानुनले बाँधेको बताए । ‘हामीले त्यसलाई सच्याउन जरुरी छ, त्यसका लागि मैले भूमिका खेल्ने छु ।’ राईले भने ।
खेलकुदलाई माया गर्ने भएकाले आफूले खेलकुदलाई बढी रकम विनियोजन गरेको निवर्तमान मुख्यमन्त्री राईको भनाइ छ । कुराश खेलको विकासमा निराश नभई निरन्तर विकासका लागि प्रयास गर्नुपर्ने उनले बताए । ‘प्रदेशको निवर्तमान मुख्यमन्त्री र हालको सांसद भएकाले खेलकुदको विकासका लागि यो प्रदेशबाट गर्नुपर्ने काम अझै पनि हुन सक्छन् ।’ प्रदेश सांसद समेत रहेका राईले भने ।
सदस्य सचिवलाई कारवाहीप्रति असन्तुष्टि
प्रदेश खेलकुद परिषदका सदस्य सचिवलाई कारवाही गर्ने कोशी प्रदेश सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै निवर्तमान मुख्यमन्त्री राईले आफूले पनि अहिले कोशी प्रदेश नभएर १ नम्बर प्रदेशको ब्याज लगाएर आएको बताए ।
उनले हालका मुख्यमन्त्रीले पनि १ नम्बर प्रदेशकै ब्याज लगाउने बताए । निवर्तमान मुख्यमन्त्री राईले अझै पनि प्रदेशमा दर्ता भएका ६०–७० वटा कार्यालयमा १ नम्बर प्रदेश नै लेखेर बोर्डहरु राखिएको बताए ।
‘तर कसको–कसको के मिलेन ।’ निवर्तमान मुख्यमन्त्री राईले सदस्य सचिवको कारवाहीतर्फ इंगित गर्दै भने, ‘म त्यो तीतो पक्षतिर जाँदिनँ । तर निर्वतमान मुख्यमन्त्री कोशीको ब्याज नलगाउने, मुख्यमन्त्री आफैं कोशीको ब्याज नलगाउने अनि सदस्य सचिवले त्यसो गरेन भनेर कारवाही गर्नु, निशाना बनाउनु मनासिब ठहर्दैन । यस्ता कुरामा हामी समझदारीमा अगाडि बढौं ।’