सुनसरी । कोसी गाउँपालिका क्षेत्रका युवावर्ग प्रहरी सेवामा जान निःशुल्क रूपमा तालिम लिन पाउँदा उत्साहित बनेका छन् ।
प्रहरी सेवामा प्रवेश गर्न चाहनेहरूका लागि सुनसरीको कोसी गाउँपालिकाले निःशुल्करूपमा एकमहिने तालिम आयोजना गरेपछि स्थानीय युवावर्ग उत्साहित बनेका हुन् । आफूहरूको प्रहरी सेवामा जाने र देशको लागि केही गर्ने सपना रहेकोमा कोसी गाउँपालिकाले आयोजना गरेको तालिम उपयोगी सावित हुने कोसी गाउँपालिका वडानम्बर २ की १९ वर्षीया सुलेखाकुमारी सदा बताउँछिन् । ‘प्रहरी सेवामा गएर देशको सेवा गर्ने मेरो सपना छ’ उनले भनिन्, ‘त्यसैले गाउँपालिकाले आयोजना गरिदिएको तालिम निकै उपयोगी सावित हुने विश्वास छ ।’ यस्तै ३० दिने तालिममा सहभागी अर्की युवती काजलकुमारी यादवले तालिम लिन पाउँदा प्रहरी बन्छु भन्ने आत्मविश्वास बढ्दै गएको बताइन् ।
‘मधेसी समुदायबाट तुलनात्मक रूपमा निकै थोरै महिलाहरू प्रहरी सेवामा गएको देखिन्छ’ उनले भनिन्, ‘किनभने हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण अलिक फरक छ ।’ ‘महिलाले धेरै पढ्नु हुँदैन, जागिर खानु हुँदैन, जे गरे पनि आखिर घरायसी कामकाज नै गर्नुपर्ने हो भन्ने बुझाइ विद्यमान छ’– १२ कक्षा पढ्दै गरेकी २० वर्षीया यादवले भनिन् । तर, कोसी गाउँपालिकाले आयोजना गरिदिएको तालिमपश्चात् अभिभावकहरूमा छोरासँगै छोरीलाई पनि प्रहरी सेवामा पठाउनुपर्छ भन्ने चेतनाको विकास हुने उनको बुझाइ छ । कोसी गाउँपालिकाको सहयोगमा सामाजिक जीवन केन्द्र नेपालले आयोजना गरेको तालिमलाई सदुपयोग गर्न सकेको अवस्थामा प्रहरी सेवामा जान सकिने सम्भावना बढेको अर्का सहभागी रोशनकुमार मण्डल बताउँछन् । ‘गाउँपालिकाले गर्नुपर्ने दायित्व निर्वाह गरेको छ तर, त्यसबाट हामी कति लाभ लिन सक्छौँ भन्ने हाम्रो सिकाइमा पनि भर पर्ने कुरा हो, प्रहरी सेवामा लागेका अनुभवी प्रशिक्षकबाट प्रशिक्षण लिन पाउँदा आफूहरूमा आत्मविश्वास बढेको छ’–अर्का सहभागी समिम अन्सारीले भने ।
कोसी गाउँपालिकाको सहयोगमा जेठ २४ गतेदेखि आयोजित तालिममा गाउँपालिकाका विभिन्न वडाका ५६ जना युवायुवतीको सहभागिता रहेको सामाजिक जीवन केन्द्र नेपाल कोसीका अध्यक्ष हजरत हुसेनले जानकारी दिए । कोशी प्रदेशमै पहिलो पटक स्थानीय तहमध्ये कोसी गाउँपालिकाले प्रहरी सेवामा प्रवेश गर्ने सोच बनाएकाहरूलाई निःशुल्करूपमा तालिम दिन सुरु गरेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । खासगरी महिला, विपन्न तथा पिछडिएका वर्गलाई लक्षित गर्दै देशको सुरक्षामा खटिने प्रहरी सेवामा प्रवेशको चाहना राख्नेहरूलाई प्रहरी तथा सुरक्षासम्बन्धी आधारभूत तालिम दिन सुरु गरिएको उनको भनाइ छ ।
प्रहरीको आधारभूत तालिम सिकाएर प्रहरी सेवामा प्रवेश गराउने लक्ष्यका साथ तालिम प्रारम्भ गरिएको हुँदा भविष्यमा यसले राम्रो नतिजा दिनेमा आफू आशावादी भएको अध्यक्ष अन्सारी बताउँछन् । गाउँका युवायुवतीहरूलाई देशको सुरक्षाको बारेमा जानकारीसहित भर्ना हुनुपूर्व नै आधारभूत ज्ञान र अभ्यास गराउन सकेको खण्डमा प्रवेश पाउन सहज हुने अपेक्षाका साथ एक महिने तालिम दिइरहेको उनले बताए । गाउँपालिका महासङ्घ कोशी प्रदेशका अध्यक्षसमेत रहेका कोशीका अध्यक्ष अन्सारीले आफ्नै गाउँपालिकाको लगानीमा युवायुवतीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीमा प्रवेश गर्न सहजताका लागि पूर्व तालिम तथा अभ्यास कार्यक्रम सुरु गरेको बताए । कोसी गाउँपालिकाका विभिन्न वर्ग समुदायका युवायुवतीहरूले तालिम लिइरहेका छन् । उनीहरू सबैलाई अभ्यासका लागि जर्सी (पोसाक) समेत प्रदान गरिएको आयोजकले जनाएको छ । प्रहरीमा प्रवेश गर्दा पूरा गर्नुपर्ने प्रक्रिया, सुरक्षाका लागि अपनाउनुपर्ने उपायहरू, लाठी अभ्यास, शारीरिक व्यायाम, सलाम गर्ने तरिकालगायतको बारेमा अभ्यास गराइरहेको प्रशिक्षक एवम् जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी नायव निरीक्षक अजय वाग्लेले जानकारी दिए ।