विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीकामा कार्यरत सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवल प्रभात राई निलम्बित भएका छन् ।
डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई निलम्बित भएका हुन् । राईले आफ्नै संगठनका सहकर्मीलाई पानीमा चोबल्दै, खेदाउँदै निर्घात कुटपिट गरेको घटना बाहिरिएलगत्तै सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले छानबिन समिति गठन गरेको थियो ।
सशस्त्रका एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा गठन भएको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनका आधारमा राईलाई निलम्बन गरी अनुसन्धान थालिएको सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखेलले जानकारी दिए । पोखरेल कोशी प्रदेशको डिआइजी भएर आएपछि राईलाई सादा पोशकमा राखेका थिए । उनी तराईको झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा हिड्ने गरेका थिए ।
राईले कुटपिट गरेको घटना सार्वजनिक भएको भोलिपल्ट नै तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।इन्स्पेक्टर राईको कुटपिटबाट घाइते भएका पाँच जना सशस्त्र प्रहरीलाई बराह बाहिनी सुनसरीमा राखेर उपचार भइरहेको छ ।
राईको कुटाइबाट झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्त कुमार राई घाइते भएका थिए ।
मङ्गलवार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट इन्स्पेक्टर राईसहित सशस्त्र प्रहरी जवान राम सुन्दर तामाङ, जीवन बास्तोलाका टोलीले प्रहरी हवलदारसहित चार जनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट प्रहरीको शरिरमा चोटपटक लागेको थियो ।
मेचीनगर नगरपालिका–४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि इन्स्पेक्टर राईले सीमा नाकामा गडबड भइरहेको भन्दै कुटपिट गरेका थिए । इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेका थिए ।सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए । सादा पोसाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेका थिए ।
कुटपिट गर्ने प्रहरी निरीक्षक राई विवादित प्रहरी अधिकृत हुन् । उनी यसअघि मोरङ पनि बसेका थिए । बिओपी सिक्टीको इन्चार्ज भएर राई बस्दा मोरङको दक्षिणी क्षेत्रबाट तस्करी गराएको आरोपमा विवादमा परेका अधिकृत हुन् । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेल आएपछि राईलाई घुमुवा प्रहरीको इन्चार्ज राखेका हुन् । प्रहरी निरीक्षक राई तस्करीको लाइन मार्फत आएको रकम संकलन गर्ने गरेको सुरक्षा स्रोतको भनाई छ । ‘तराईको झापा, सुनसरी र मोरङको दक्षिणी क्षेत्रमा पुगेर पनि तस्करी गराएको भन्दै बिओपी इन्चार्जहरूसँग पनि रकम मागेर हैरान दिएका छन्,’ एक जना विओपी इन्चार्जले भने ।