विजयपुर । धरान उपमहानगरपालिकाले आयोजना गरेको सात दिने थुक्पा बनाउने तालिम सम्पन्न भएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित तालिमको  आइतबार समापन भएको हो । तालिममा सहभागीहरूले सीप सिकेको र व्यवसायी बन्न सरकारले सहयोग आवश्यक रहेको बताए । धरान नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले तालिम परिणाममुखी देखिएको बताए । उनले भने, ‘कफी र ड्राइभिङ पनि सिकाइरहेका छौँ । सीप लिएकालाई व्यवसायी बनाउन पनि पहल गर्छौं ।’

नगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तालिम आउने र भत्ता मात्रै लिने काम नभएको बताउँदै भने, ‘सहभागीहरूले उत्पादन पनि गर्नुभएको छ ।’ उनले व्यवसायी कसरी बन्ने भन्ने पनि कार्यक्रम रहेको बताए ।

तालिम सहजीकरण रामशोभित यादव र महालक्ष्मी प्रधानाङ्गले गरेको कार्यक्रम संयोजक निर्मला बस्नेतले जानकारी दिइन् । धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा १२ जना सहभागी रहेका थिए । तालिम महालक्ष्मी कृषि फर्म रामधुनीको सहकार्यमा भएको हो ।