धरान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–३ मा हायसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।
शनिबार बिहानै हायसको ठक्करबाट स्कुटर चालक शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय मानबहादुर बेघाको ज्यान गएको हो । उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी चढेको मधेश प्रदेश–०३–०२८ प ६३४४ नम्बरको स्कुटरलाई बा.३ ख ८६३७ नम्बरको हायसले ठक्कर दिएको थियो ।
विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा बेघा गम्भीर घाइते बन्न पुगेको प्रहरीले जनाएको छ । हायस र हायस चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।