धनकुटा । धनकुटाको पर्यटकीय ध्वजे डाँडामा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न नेपालसहित विश्वका २२ देशका राष्ट्रिय झण्डा राखिएको छ ।

साँगुरीगढी गाउँपालिका–५ को ध्वजे डाँडामा करिब २० फिट उचाइमा झण्डाहरू फहराइएको हो । जम्मा ६ लाख ३३ हजार १ सय ४ रुपैयाँको लागतमा २२ देशको झण्डा राखिएको साँगुरीगढी गाउँपालिका ५ नम्बर वडाध्यक्ष खड्गबहादुर लिम्बूले जानकारी दिए । नेपाल पर्यटन बोर्डको ५ लाख, साँगुरीगढी गाउँपालिकाको १ लाख २५ हजार र जनसहभागिता ३५ हजार ६ सय ४ रुपैयाँ लागत रहेको उनले जानकारी दिए । अन्य पर्यटकीय स्थलभन्दा फरक र आकर्षक बनाउन यो अवधारणा अघि सारिएको लिम्बूको भनाइ छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका प्रदेश सरकारले प्रदेशकै पर्यटकीय स्थानीय तह घोषित गरेको गाउँपालिका पनि हो । ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेषगरी वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएर विभिन्न देशको झण्डा फहराइएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । यो ठाउँमा विश्वभरका विभिन्न देशको झण्डा फहराउने अभियान रहेको उनको भनाइ छ । ध्वजे डाँडालाई अब नेपालीमा ध्वजे डाँडा र अङ्ग्रेजीमा ‘फ्ल्याग हिल’ भन्न सकिने उनको भनाइ छ ।

मिक्लाजुङपछि महाभारत पहाडको दोस्रो अग्लो डाँडाको रूपमा रहेको ध्वजे डाँडाको उचाइ करिब २ हजार मिटर रहेको छ । यसअघि यो क्षेत्रमा एक भ्युटावर निर्माण गरिएको छ । मौसम खुलेको बेला सूर्योदयको उत्कृष्ट दृश्यावलोकनको साथै हिमालको मनोरम हिमशृङ्खला देख्न सकिन्छ ।