धनकुटा । हिमधारा खानेपानी कम्पनी इटहरीले उत्पादन गरेको उपहार खोनपानीको जारमा आइतबार दूषित पानी फेला परेको छ ।
कर्मचारी सञ्चयकोषको कार्यालय धनकुटामा हिमधारा कम्पनी इटहरी–१० ले उत्पादन गरेको उपहार अल्ट्रा प्युर ड्रिङ्किङ वाटर खानेपानीको जारमा अखाद्य दूषित वस्तु भेटिएको हो । कर्मचारी सञ्चयकोषको कार्यालय धनकुटाले आइतबार बिहान ११ बजे धनपा–७ कोशी ग्याँस चोकमा रहेको सनोज किराना पसलबाट लगेको उपहार खानेपानीको जारमा यस्तो अखाद्य पदार्थ भेटिएको हो ।
कार्यालयका नासु रामशरण थापाले धनपा–७ मा रहेको सनोज किराना पसलबाट ४ वटा उपहार खानेपानीको जार ल्याएको बताए । उनले उक्त पसलबाट ल्याएको खानेपानीको जार अट्टोबाट झारेर कार्यालयमा लाँदै गर्दा अखाद्य पदार्थ भेटिएको बताए । थापाले भने, ‘अट्टोबाट झार्ने क्रममा अचानक खानेपानीको जारमा अखाद्य वस्तु देखिएको हो ।’ जारमा भ्यागुताको चेपागाँडाजस्तो कालो वस्तु, डढेको हड्डीको सेतो टुक्राजस्तो सहजै देख्न सकिन्छ भन्दै थापाले भने, ‘पानी एकदमै दूषित र खान अयोग्य रहेको छ ।’
कर्मचारी सञ्चयकोषका अर्का कर्मचारी पूर्ण याक्खाले भने, ‘हामीले वर्षौंदेखि उपहार कम्पनीको पानी खाँदै आएको थियौँ तर, यस पटक थाहा भयो हामीले त वर्षौंदेखि दूषित पानी खाइरहेका रहेछौँ ।’ उनले आइतबार ४ वटा उपहार खानेपानीको जार ल्याएको बताए । टाढबाट हेर्दौ खानेपानीको जारमा फोहोर देखिएकाले ४ वटै जार नचलाई कार्यालयमा सुरक्षित राखिएको याक्खाले बताए ।
यता धनकुटा–७ हुलाकटोलस्थित कोशी ग्याँस चोकमा रहेको सनोज किराना पसलका प्रोप्राइटर सनोज श्रेष्ठले भने, ‘मैले मेरने पसलमा ३–४ वर्षदेखि नियमितरूपमा इटहरीको हिमधारा कम्पनीले उत्पादन गर्दै आएको उपहार खानेपानी बिक्री गरिरहेको छु ।’ यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्राविधिक सहायक सुशील कोइरालासँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
उता उपहार अल्ट्रा प्युर ड्रिङ्किङ वाटर हिमधारा कम्पनी प्रा.लि. इटहरी–१० का सञ्चालक जितेन्द्र दाहालले कामदारको कमी कमजोरीको कारण दूषित पानी बजारमा गएको हुनसक्ने बताए । दाहालले भने, ‘उपहार खानेपानीको जारमा फोहोरमैला भेटिएको भन्ने धनकुटाबाट आफूलाई पनि फोन आएको छ ।’ ‘यसमा खानेपानी कम्पनीमा काम गर्ने जिम्मेवार कर्मचारीको कमी कमजोरी भएको छ’–दाहालले थपे ।