वराहक्षेत्र । स्थानीय र क्याम्पसबीच भएको बाटोको विवादले अवरुद्ध चक्रघट्टीस्थित सप्तकोसी बहुमुखी क्याम्पसको पर्खाल निर्माणको काम सुरु भएको छ ।
विगत ६ महिनादेखि विवादित कम्पाउन्ड वालको काम मङ्गलबारबाट सुरु भएको हो । सोमबार क्याम्पसमा सम्पन्न बैठकले जेठ २४ गते स्थानीय जग्गाधनी गजेन्द्रबहादुर थापा, लक्की शेर्पा, दीपेन थापा र क्याम्पसबीच भएको लिखित सहमतिअनुसार नै क्याम्पसको पर्खाल निर्माण गरिने सहमति गरिएको वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले बताए ।
उपप्रमुख नन्दकुमारी राई, वडानम्बर ७ का अध्यक्ष कपिल आचार्य, कम्पाउन्ड वाल निर्माण समिति, कलेज व्यवस्थापन समिति, सल्लाहकार समिति र विद्यार्थी स्वतन्त्र युनियनका चित्रमान राई र नेविसङ्घ सचिव सविन कार्की बैठकमा सहभागी थिए । मौखिक सहमति गर्दै वालको काम सुरु गर्ने निर्णय गरिएको कम्पाउन्ड वाल निर्माण समिति अध्यक्ष दोभादेवी थापाले जानकारी दिइन् ।
आर्थिक वर्ष २०७९/०८० को मङ्सिर महिनामा कोशी प्रदेश सरकारले कम्पाउन्ड वाल निर्माणका लागि क्याम्पसलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
पर्खालको निर्माण कार्य भइरहँदा केही दिनअगाडि नेकपा (एमाले) वराहक्षेत्र नगर कमिटी अध्यक्षसमेत रहेका जग्गाधनी गजेन्द्र थापाले ‘काम रोक, तँलाई ठीक लगाउँछु’ भन्दै परिवारसहित आएका उनले दुव्र्यवहार गरेको निर्माण समिति अध्यक्ष दोभादेवी (कमला) ले पत्रकार सम्मेलन गरी बताएकी थिइन् भने क्याम्पसले गजेन्द्रविरुद्ध प्रेस विज्ञप्ति जारी गरेको थियो ।
सोमबारको बैठकमा गजेन्द्र थापाका तर्फबाट ७ नम्बरका अध्यक्ष कपिल आचार्यले माफी मागेको दोभादेवीले बताइन् । पूर्व नगरप्रमुख निलम खनालको कार्यकालमा स्थानीयले ४ फिट र क्याम्पसले १० फिट जग्गा दिएर बाटो खोलिने सहमति भए पनि पछि गएर स्थानीय जग्गाधनीहरूले २० फिट बाटो बनाउनु पर्ने भन्दै जग्गाधनीले ४ फिट र क्याम्पसले १६ फिट जग्गा दिनुपर्ने माग गरेपछि पर्खाल निर्माणको काम लगातार अवरुद्ध बन्दै आएको पूर्व व्यवस्थापन समिति अध्यक्ष हाल सदस्य कालुराम चौधरी बताउँछन् ।