धनकुटा । ज्येष्ठ नागरिकहरूको अधिकार ऐन, कानूनमा व्यवस्था भएअनुसार व्यवहारमा कार्यान्वयन नभएको बुधबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
उनीहरूले ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक स्थलहरूमा हिँड्डुल गर्दा सहज वातावरण बनाउनु पर्नेमा समेत जोड दिएका छन् । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले धनकुटामा आयोजना गरेको ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपभोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण विषयक कार्याशाला गोष्ठी’ मा सहभागी वक्ताहरूले यस्तो जोड दिएका हुन् । एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले ज्येष्ठ नागरिकको ज्ञान, सीप रूपान्तरण हुँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए ।
आधुनिकताले ढाक्दै गएको नेपाली समाजले ज्येष्ठ नागरिकको कुरा सुन्न नचाहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले भने, ‘अबको दिनमा नेपाली समाजमा ज्येष्ठ नागरिकहरूलाई प्रेमिल ढङगले सँगसँगै अघि बढाउनु पर्छ ।’
गोष्ठीमा ज्येष्ठ नागरिक सङ्घ कोशी प्रदेश सदस्य हरिकृष्ण जोशीले जेष्ठ नागरिकहरूले अस्पताल जाँदा, बिजुलीको बिल तिर्न जाँदा, पानीको बिल तिर्न जाँदा लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताए । त्यसै गरी मानवअधिकारकर्मी देवी बास्कोटाले ज्येष्ठ नागरिकहरूको मानवअधिकारका लागि कानूनले व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन नभएको बताए । उनले ज्येष्ठ नागरिकहरूका लागि जताततै वृद्धाश्रम खोलिनु सामाजिक न्यायको दृष्टिले राम्रो नभएको बताए ।
यस्तै गरी ज्येष्ठ नागरिक जिल्ला सङ्घ धनकुटा अध्यक्ष रामबहादुर श्रेष्ठले सार्वजनिक यातायातमा आरक्षण र भाडा छुटको कार्यान्वयन नभएको गुनासो गरे । उनले अस्पतालमा पनि ५० प्रतिशत छुट कार्यान्वयन नभएको बताए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव सविता अर्यालले ज्येष्ठ नागरिकको बारेमा छुट्टै ऐन तथा कानून आएको र त्यसको कार्यान्वयनमा सरकार लागी परेको बताइन् । उनले अधिकार लिनका लागि ज्येष्ठ नागरिकहरू सङ्गठित भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
उनले सो कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई कानूनको बारेमा जानकारीसमेत दिएका थिए । त्यसका साथै अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी सहभागीहरूमाझ बृहत् छलफल गरिएको थियो । यस्तै कार्यक्रमका सहभागीहरूले समाजको विकास र समृद्धिमा ज्येष्ठ नागरिकका अनुभव र ज्ञान सीपहरू महŒवपूर्ण मागदर्शन बन्नेमा जोड दिएका थिए ।