पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आनिपान पठनपाठन सम्बन्धी शिक्षकलाई लिम्बू भाषा लिपि प्रवर्द्धन सम्बन्धी प्रशिक्षण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ कुम्मायकले आनिपान पठनपाठन शिक्षण बारे शिक्षक शिक्षिकाहरूलाई लिम्बू भाषा लिपि सम्बन्धी दुई दिने प्रशिक्षण गरेको हो ।

बोलीचालीको भाषाको रूपमा हराउँदै गएको लिम्बू भाषा र सिरिजङ्गा लिपिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षण गराइएको कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए ।

कुम्मायक–१ को वडाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा लागु गर्न लागेको जनाएको छ । वडाध्यक्ष देबेन्द्रकुमार लावतीले लिम्बू भाषा लिपि संस्कार र सस्कृतीको  बारे संरक्षण र संवर्द्धन लागि सधैँ लागि परेको बताए । उनले आगामी दिनमा सबै जात, धर्म र संस्कृतिको संरक्षण गर्दै जाने विषयमा जोड दिए । 

प्रशिक्षणका सहभागी शिक्षकहरूले आनिपान लिम्बू भाषा तथा लिपि पठनपाठनमा काम गरिरहेका शिक्षकहरूको तलब वृद्धि गर्नुपर्ने माग गरे । उनीहरूले गाउँपालिकाको १८ सामुदायिक विद्यालयमा लिम्बू भाषा लिपिको पठनपाठनका लागि छुट्टै दरबन्दी कायम गर्नुपर्ने  माग गरेका थिए ।

प्रशिक्षणका सहभागी ४५ जना शिक्षक लगायत अन्यलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको लिम्बू भाषा विकास संस्था (लिल्डा)का अध्यक्ष दिलेन्द्र कुरुम्बाङ र नेपाल शिक्षक महासंघ कुम्मायक गाउँपालिका अध्यक्ष तथा पृथ्वी मा।वि।का सहायक प्र।अ फुलकुमारी नेम्वाङले सहजीकरण गरेका थिए ।

limbu2