बिर्तामोड । बिर्तामोड नगरपालिकाले रोजगार ऐन निर्माणको प्रक्रिया सुरु गरेको छ । नगरपालिकाको रोजगार शाखाको पहलमा ऐन निर्माण प्रक्रिया सुरु भएको हो । 

नगरपालिकाले बिहीबार ऐन निर्माणको लागि सरोकारवालासँग छलफल गरेको छ । छलफलमा उद्योग वाणिज्य संघ, स्थानीय ठुला रोजगारदाता, सञ्चारकर्मी र नगरपालिकामा सूचीकृत बेरोजगार युवा युवतीहरूको सहभागिता रहेको थियो । नगरको नेतृत्वले उपस्थित सबैसँग रोजगार नीति निर्माणका विषयमा छलफल गरेको रोजगार शाखा प्रमुख होमनाथ भट्टराईले जानकारी दिए । 

कार्यक्रममा सहजीकरण गर्दै सुरक्षित आप्रवासन परियोजना९सामी० का संयोजक फणीन्द्र दहालले झापामा २ लाख ४५ हजार घरधुरी रहेकोमा ७० हजार घरबाट कम्तीमा एक जना वैदेशिक रोजगारमा गएको जानकारी दिए । उनले वैदेशिक रोजगार बेरोजगार समस्याको दीर्घकालीन समाधान नभएको बताउँदै उनीहरूलाई स्वरोजगार बनाउन पहल थाल्न आग्रह गरे । 

युवाहरूलाई रोजगार बनाउन वैदेशिक रोजगारका क्रममा सिकेको सिप तथा स्रोत साधनलाई यहाँ उपयोग गर्ने नीति बनाउन पनि उनले सुझाव दिए । उनीहरूबाट सामूहिक लगानीमा सञ्चालन हुन सक्ने योजना निर्माण गरेर स्थानीय तह अघि बढ्नुपर्ने उनले बताए । 

बिर्तामोड नगरपालिकाका रोजगार शाखा प्रमुख भट्टराईले नगरमा ७ सय बेरोजगार युवा युवती सूचीकृत भएको विवरण कार्यक्रममा प्रस्तुत गरे । उनीहरूलाई स्थानीय उद्योग, व्यवसाय तथा कलकारखानामा क्षमताका आधारमा काम गर्ने वातावरण बनाउन उद्योगीहरू सहमत भएका छन् । 

रोजगार नीति निर्माण गरेर बेरोजगार युवा युवतीलाई स्वरोजगार बनाउन नगरपालिका अग्रसर रहेको नगर प्रमुख पवित्रा महतारा प्रसाईँले जानकारी दिइन् । कतिपय प्रतिष्ठानमा अन्य देशका मजदुर कार्यरत रहेको भन्दै प्रसाईँले त्यस्ता प्रतिष्ठानमा नेपाली श्रमिकलाई प्राथमिकता दिन अनुरोध गरिन् ।

कार्यक्रममा उप–प्रमुख नगेन्द्र सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, मजदुर नेता यज्ञप्रताप अधिकारी, अमिर लिङदेन, रुद्र सिटौला लगायतले रोजगार नीतिमा समावेश हुनुपर्ने सवालका विषयमा धारणा राखेका थिए ।