कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङले नियुक्त गरेका छन् । 

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । आह्वानअनुसार प्रदेश गठबन्धन दलले पेश गरेको  दाबीमा प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 


नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी  र जनता समाजवादी पार्टीको समर्थनमा बिहीबार थापाले प्रदेश प्रमुख खापुङसमक्ष दाबी पेश गरेका थिए । 

दलले सभामुख बाबुराम कार्कीसहित ४७ जना सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । दलको सदस्यता त्यागिसकेका सभामुखलाई सरकार गठनको प्रक्रियामा मुछ्न नहुने एमालेले बताउँदै आएको थियो ।

कोशी प्रदेशमा कुनै पनि दलको बहुमत छैन । जसले गर्दा दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दाबी पेश गरिएको हो । राप्रपाले साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई समेत माओवादीको सदस्य गनेर गठबन्धन दलले बहुमत जुटाएका हुन् । 

 

मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुराम खापुङले गरेको नयाँ सरकार गठनको आह्वान गरेका थिए । 

थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि भोलि मन्त्रीमण्डल विस्तारको तयारी छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलिमात्रै छलफल हुने बताए ।