मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा पर्ने हेवाखोलामा पेनस्टक पाइप राखेर सवारी र ढुवानीका साधन आवागमन गराइएको छ ।
ह्युमपाइप राखेर गरिएको डाइभर्सन सफल नभएपछि पेनस्टक पाइप राखिएको हो ।
जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय इलाम, फिदिम नगरपालिका, जिल्ला प्रहरी कार्यालय पाँचथर, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा माउन्टेन हाइड्रोबाट ६ मिटर लम्बाइ, साढे २ मिटर मोटाइ र १२ एमएम गोलाइका २ थान पेनस्टक पाइप राखिएपछि सोमबार साँझदेखि सवारी र ढुवानीका साधन वारपार गर्न थालेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए ।
पाइपले अहिले भन्दा दोब्बर क्षमता धान्ने भएकाले तत्कालका लागि सवारी र ढुवानी आवागमनमा समस्या नहुने डिएसपी खतिवडाले बताए ।
बाढीका कारण पुल बगेपछि हेवापारिको पाँचथरका तीनवटा स्थानीय तह र ताप्लेजुङ जिल्लासँग सडक सम्पर्क टुटेको थियो । असार २ गतेको बाढीले बगाएपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो । बेलिब्रिज निर्माण थालिए पनि ढिलाइ हुने देखिएपछि यसअघि ९० र १ सय २० मिटरका ह्युम पाइपमार्फत खोलाको पानी कटाइएको थियो । तर ह्युमपाइप डाइभर्सन सफल हुन सकेको थिएन ।
पेनस्टक राखेर डाइभर्सन चालू भएपछि मेची राजमार्गको फिदिम खण्डमा रोकिएका खाद्यान्न बोक्ने ६० वटा ट्रक ताप्लेजुङ प्रवेश गरेका छन् । यस्तै भारपातर्फ रहेका सयौं सवारी साधन र ढुवानी ट्रक फिदिम र इलाम हुँदै झापातर्फ लागेका छन् ।