इनरुवा । सुनसरीमा आज (सोमबार) बाट दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान सञ्चालनमा ल्याइने भएको छ ।महामारीका रूपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष अभियान सञ्चालनमा ल्याउन लागिएको हो ।

अभियानबारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक डाकी जानकारी गराएको हो । बैठकमा दिइएको जानकारीअनुसार खोप अभियान सुनसरीको बर्जु गाउँपालिका बाहेकका अन्य ११ वटा स्थानीय तहमा सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईंका अनुसार बर्जु गाउँपालिकामा भने फागुन महिनामा महामारीका रूपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएको थियो । सोही कारण यस पटकको विशेष अभियानमा बर्जुबाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाइनेछ ।

स्वास्थ्य प्रमुख प्रसाईंले नेपाल सरकारको निर्णय बमोजिम दादुरा महामारी देखिएका नौ जिल्लाको हकमा विशेष खोप अभियान सञ्चालन हुन लागेको बताए । उक्त अभियानमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिका समेटिने उनले जानकारी दिए ।

यसैबीच स्वास्थ्य कार्यालय सुनसरीले विशेष खोप अभियान विद्यालय केन्द्रित हुने जनाएको छ । पालिकामा रहेका सबै विद्यालयलाई केन्द्र बनाएर खोप लगाउने अभियानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीमा सम्पन्न बैठकमा जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारीसहित सरोकारवालालगायतको उपस्थिति रहेको थियो । बैठकले अभियान लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने कार्यमा सरोकारवालाबीच समन्वय गर्ने र अनुगमनको कार्यलाई चुस्त बनाउने निर्णयसमेत गरेको छ ।