विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ भाउन्नेस्थित सृजना सामुदायिक वनको नौ सय ५५ क्यु.फिट काठ घोटाला गरेको आरोप लागेका वनका अध्यक्ष छत्रबहादुर लिम्बूविरुद्ध मुद्दा दायर भएको छ ।

डिभिजन वन कार्यालय मोरङले अध्यक्ष लिम्बूविरुद्ध जिल्ला अदालत मोरङमा आइतबार अभियोग पत्र दर्ता गरेको हो । लिम्बूलाई फरार प्रतिवादी बनाएर डिभिजन वन कार्यालयले वन ऐनअन्तर्गत मुद्दा दर्ता गरेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए । वन ऐन २०७६ को दफा ४९ अनुसार लिम्बूलाई १ वर्ष कैद र बिगो बराबर १८ लाख जरिबाना वा दुवै सजाय हुने माग दाबी लिएर अभियोग दर्ता गरिएको डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दीपेश मिश्राले बताए । अदालतमा मुद्दा दर्ता भएकोले आज (सोमबार) प्रतिवादीको हकमा पक्राउ पुर्जी जारी हुने मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । ‘अदालतले पठाएको म्यादभित्र पक्राउ परेर हाजिर भए प्रतिवादीको बयान सुनेर निर्णय हुन्छ । उपस्थित भएन भने अदालतले निर्णय गर्नेछ’ उनले भने, ‘सम्बन्धित इलाका प्रहरी कार्यालयमा पक्राउ पुर्जीको म्यादसहित पठाइन्छ । म्याद तामेल भएको मितिले ३५ दिनभित्र उपस्थित हुनुपर्दछ ।’

लिम्बूले सामुदायिक वनको १७ लाख ५५ हजार मूल्य बराबरको नौ सय ५५ क्यू.फिट काठ अनियमितता गरेको आरोप छ । वनको काठ अनियमितता गरेको पाइएपछि डिभिजन वन कार्यालय मोरङले उनीविरुद्ध १४ असारमा उनीविरुद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बू फरार भए । फरार भएका लिम्बूलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्राचार गरेको थियो । पहुँच र शक्तिको भरमा प्रहरी र वन कार्यालयले उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ । उनी विराटनगरमा रहेको स्रोतले जनाएको छ । अदालतबाट धरौटी खुलाउने र धरौटी रकम बुझाएर मुद्दाको निरूपण गर्ने तयारीमा उनी लागिपरेको स्रोत बताउँछ । त्यसको लागि काङ्ग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरू लागिपरेको स्रोतको दाबी छ ।

डिभिजन वन कार्यालय मोरङले बनाएको छानबिन समितिको प्रतिवेदन अनुसार लिम्बूले सामुदायिक वनभित्रको घाटगद्दीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफूखुसी बिक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अनियमितता गरेको उपभोक्ताहरू बताउँछन् । अनियमितताको आरोप लागेका लिम्बू नेपाली काङ्ग्रेस बेलबारीका नगर सभापति हुन् । उनले विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । २०७९ साउनमा अध्यक्ष लिम्बूले वनको घाटगद्दीमा रहेको काठ आफूखुसी उपभोक्ताहरूलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको उपभोक्ताहरू नै बताउँछन् । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई कीर्ते कागजात बनाई काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

लिम्बूले प्रतिक्यु.फिट २ हजारदेखि ३ हजारसम्ममा बिक्री गरेको बुझिएको छ । अध्यक्ष लिम्बूले अनियमितता गरेको भन्दै  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन वन कार्यालयले सव–डिभिजन कानेपोखरीका वन अधिकृत अलाउद्दीन मियाँको नेतृत्वको समितिले छानबिन गरेको थियो । छानबिनको क्रममा अध्यक्ष लिम्बूले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अनियमितता गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

३ वर्षको कार्यकाल भए पनि लिम्बूले आफ्नो कार्यकालको म्याद सकिएको एक वर्षपछाडि मात्रै साधारणसभा गराएका थिए । ४ वर्षमा नौ सय ८७ क्यू.फिट काठ बिक्री भएको अनुसन्धान प्रतिवेदनले देखाएको छ । लिम्बूले सखुवा (साल) चार सय २७ क्यु.फिट, तीन सय क्यु.फिट बोटधँयरो र अन्य प्रजातिको दुई सय ६० क्यु.फिट काठ बिक्री गरेको अनुसन्धानमा देखिएको छ । छानबिन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सव–डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दीपेश मिश्रालाई गत असार ११ गते अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको थियो । उनले अनुसन्धान पूरा गरेपछि अभियोग लैजाने तयारी गरिएको हो ।