धरान । कोशी प्रदेशका विभिन्न जिल्लामा रुखबाट लडेर र पोखरीमा डुबेर दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोरङको सुन्दरहरैंचास्थित हसिना सिमसारमा पौडी खेल्ने क्रममा सुनसरी इटहरी घर भएका एक किशोरको ज्यान गएको हो । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–३ का १६ वर्षीय अभिनन्दन आचार्य रहेका छन् ।
साथीहरूसँग गएका उनी पौडी राम्ररी खेल्न नजानेका कारण डुबेका थिए । उनलाई तत्कालै उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि उपचारको क्रममा निधन भएको चिकित्सकले पुष्टि गरेको छ । उनी सिमसारको बाँधको पानीमा छिरेका थिए ।
यस्तै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ मा रुखबाट लडेर ७३ वर्षीय शमशेर राईको आइतबार बिहान मृत्यु भएको हो । उनी आइतबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता इन्स्पेक्टर बेनु कार्कीले जानकारी दिए । उनका अनुसार बिहानै घाँस काट्न रुख चढ्दा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।