धरान । किरात राई यायोक्खा सुनसरी शाखाले ३६औँ स्थापना दिवस सोमबार धरानमा मनाएको छ ।
धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालय भवनमा आयोजित कार्यक्रममा चारजना व्यक्तित्वलाई सम्मानित गरिएको छ । किराया वडा कार्यसमिति १८ का पूर्वअध्यक्ष वृष चाम्लिङ, किराया १७ का अध्यक्ष बलराम राई, किराया १९ का अध्यक्ष मेघनाथ राई र किराया ८ का अध्यक्ष निरबहादुर राईलाई जीवन्त यायोक्खा सेवा सम्मान–पत्रले सम्मानित गरिएको छ । यायोक्खाको संस्थागत विकासमा योगदान पु¥याएकाले सम्मानित गरिएको सचिव नवीन राईले बताए । कार्यक्रममा स्वास्थ्य समस्याका कारण दुईजना सम्मानित व्यक्तित्व सहभागी हुन नसकेको सचिव राईले जानकारी दिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्वलाई किराया पूर्व केन्द्रीय अध्यक्ष एवम् निवर्तमान धरान नगरप्रमुख तिलक राई र जिल्ला अध्यक्ष राजेन्द्र राईले फेटा गुथेर सम्मान–पत्र प्रदान गरेका थिए । स्थापना दिवसको अवसरमा धरानमा गरिएको रक्तदान कार्यक्रममा २७ युनिट रगत सङ्कलन भएको छ । यस्तै इटहरी वडा कार्यसमिति हाँसपोसा–१, १९ र २० ले २३ युनिट, सोनापुर वडा कार्यसमितिले ४० युनिट रगत सङ्कलन गरेको छ । जिल्लाभरि कुल ९० युनिट रगत सङ्कलन भएको अध्यक्ष राजेन्द्र राईले बताए । कार्यक्रम संयोजक दुर्गाकुमारी राईका अनुसार रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।
यसैबीच किरायाले स्थानीय तहले डेङ्गुका बिरामीका लागि उपचार केन्द्रको आवश्यकता महसुस गरेमा यलम्बर भवन निःशुल्क रूपमा उपलब्ध गराउने उनले बताए । धरान डेङ्गुले आक्रान्त भएकाले पनि उपचार केन्द्र दिनका लागि संस्था तयार रहेको र स्वयम्सेवीको रूपमा खट्न पनि तयार रहेको उनले बताए ।
यायोक्खाले यलम्बर स्मृति सङ्ग्रहालय भवन र वडा कार्यसमिति भवनलाई पनि प्रयोग गर्न दिने जनाएको छ । हाल धरानको ५, ८, १३, १५, १७ र १९ नम्बर वडामा कार्यसमिति भवन रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले किरायामा युवा पुस्तालाई आकर्षित गर्ने खालका कार्यक्रमहरू ल्याउन सुझाव दिए ।
कार्यक्रममा आदिवासी जनजाति समन्वय परिषद् सुनसरीका अध्यक्ष राम मान्डुपा राई, यायोक्खा सुनसरीका सल्लाहकार पूर्व गोर्खा मेजर डीबी साम्पाङ राई, धरान–८ का वडाध्यक्ष धनबहादुर राईलगायतले शुभकामना व्यक्त गरे । सम्मानितहरूका तर्फबाट वृष चाम्लिङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा किराया केन्द्रीय सदस्य एवम् सुनसरी इन्चार्ज मानभगत चाम्लिङ, किराया निवर्तमान अध्यक्ष एवम् प्रदेश उपाध्यक्ष बलराम राई, नगर अध्यक्ष लोकेन्द्र राई, विभिन्न वडा कार्य समितिका पदाधिकारी, भाषिक भातृसङ्गठनलगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । किरायाले स्थापना दिवसको अवसरमा साँझ यलम्बर स्मृति सङ्ग्रहालयमा दीप प्रज्वलन गरेको छ ।