धनकुटा । मगर र तामाङ जातिको विवाहको विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानूनी कारबाहीको माग गर्दा सोमबार धनकुटामा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल मगर सङ्घ र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले अधिवक्ता पाण्डेलाई हदैसम्मको कारबाहीको माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रदर्शनसँगै ज्ञापन–पत्र पठाएका छन् । जिल्ला घेदुङका अध्यक्ष पेमा लामा र मगर सङ्घका जिल्ला अध्यक्ष तोर्ण खपाङ्गी मगरद्वारा हस्ताक्षरित ज्ञापन–पत्र प्रजिअ गौतममार्फत् नेपाल सरकारका गृहमन्त्रीलाई पठाइएको हो ।

टेलिभिजन कार्यक्रममार्फत् अधिवक्ता पाण्डेले यही साउन ७ गते तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढङ्गले व्याख्या गरेको उनीहरूको आरोप छ । उनीहरूले अनुवांशिकरूपमा नै समस्त समुदायलाई आपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्ने गरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्तिले समूदायको  आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएको ज्ञापन पत्रमा उल्लेख छ । अभिव्यक्ति सच्याउन पटक–पटक आग्रह गर्दासमेत अटेर गरेपछि बाध्य भएर कानूनी उपचारको लागि अघि बढ्दा पनि अदालतले समेत बेवास्ता गरेपछि देशव्यापी आन्दोलनमा उत्रिनु परेको स्पष्ट पारेका छन् ।

उनीहरूले न्यायको लागि घोषित आन्दोलनप्रति ऐक्यबद्धता, समर्थन जुटाइदिन र आवाज उठाइदिन सम्पूर्ण मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज तथा कानून व्यवसायीहरूलाई समेत ज्ञापन पत्रमार्फत् हार्दिक आग्रह गरेका छन् । प्रजिअ गौतमलाई ज्ञापन–पत्र हस्तान्तरणपश्चात् जिल्ला प्रशासन कार्यालय धनकुटाको मूलगेटमा कोणसभा आयोजना गरिएको थियो । कोणसभालाई घेदुङका सङ्घीय सदस्य विष्णु मोक्तान तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल मगर सङ्घ धनकुटाका अध्यक्ष तोर्ण खपाङ्गीले सम्बोधन गरेका थिए ।

उनीहरूले विवादास्पद अभिव्यक्ति दिने पाण्डेलाई तत्काल पक्राउ गरी कारबाही नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने नेपाल सरकारलाई चेतावनी दिएका छन् । विरोध प्रदर्शनको क्रममा प्रहरी दमनको चर्को आलोचना गर्दै नाराबाजीसमेत गरेका थिए ।