सुनसरी । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले ३३/११ के.भी. इनरुवा सवस्टेशनबाट सञ्चालित १ सय २७ किलोमिटर (ब्राञ्चलाइनसहित) लामो ११ के.भी.लौकही फिडरलाई व्यवस्थित बनाउने कार्य गरेको छ । लौकही कुशाहास्थित फिडरलाई प्राधिकरणले तीन भागमा विभाजन गरेर व्यवस्थित बनाउने कार्य गरेको हो ।

सुनसरीको कोसी गाउँपालिका वडानम्बर ३ स्थित कुशाहामा निर्माण गरेको १३२/११ के.भी. कुशाहा सवस्टेशनबाट दुईवटा ११ के.भी.लाइनहरू पूर्व–पश्चिम राजमार्ग जमुवा नहर चोक कोशीटप्पु वन्यजन्तु आरक्षणको मूल गेटसम्म निर्माण गरी लौकही फिडरमा जोडेको छ । यसले गर्दा १ सय २७ किलोमिटर लम्बाइ रहेको फिडरलाई तीन भागमा विभाजन गरेको प्राधिकरणले जनाएको छ । कुशाहा सवस्टेशनदेखि जमुवा नहर चोक हुँदै भण्टाबारीसम्मको लाइन ११ के.भी. कोसी फिडरबाट सञ्चालन हुने भएको छ भने कुशाहादेखि जमुवा नहर चोक हुँदै पूर्व सुनसरी खोलासम्म ११ के.भी.भोक्राहा फिडरबाट सञ्चालन हुनेछ । सो फिडर सञ्चालनमा आउने भएपछि कोसी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, वराहक्षेत्र नगरपालिकाका केही क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।

त्यसैगरी पुरानो ११ के.भी.लौकही फिडरबाट ३३÷११ के.भी. इनरुवाबाटै इनरुवाको महेन्द्र चोक हुँदै रामधुनी ननगरपालिका– ८ र ९ डुम्राहाको क्षेत्रहरूमा विद्युत् प्रवाह गरिने भएको छ । उक्त कार्यको आइतबार नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिड शाखा प्रमुख रोशन खड्का तथा इनरुवा वितरण केन्द्रका कार्यालय प्रमुख अभिनव झालगायतको उपस्थितिमा कोसी फिडर र भोक्राहा फिडरहरूको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।

विगतमा लौकही फिडरबाट सेवा लिइरहेका ग्राहकहरूले पटक–पटक लाइन ट्रिप हुने तथा भोल्टेज नपुग्ने समस्या भोग्नुपरेकोमा नयाँ लाइनहरू निर्माण भएपछि धेरै हदसम्म समाधान हुने सम्भावना बढेको कोसी गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष सुलेमान मन्सुरीले बताए । समस्या समाधान गर्नका लागि व्यवस्थित बनाउने कार्य गरेको प्राधिकरण इनरुवा वितरण केन्द्र प्रमुख झाले बताए ।

झाले उद्घाटन कार्यक्रममा दिएको जानकारीअनुसार यसबाट पावर क्वालिटीमा सुधार, भोल्टेज सुधार तथा सिस्टमको विश्वसनीयता बढ्ने र ग्राहकहरूले राम्रो विद्युत् सुविधा प्राप्त गर्नेछन् । यस कार्यले ३३÷११ के.भी. इनरुवाको लोड व्यवस्थापन कार्यमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् सप्लाइको विश्वसनीयता बढाउनेतर्फ योजनाबद्ध कार्य गर्न दिएको निर्देशन अनुरूप उक्त फिडरहरू निर्माण गरिएको उनको भनाइ छ ।