सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रबाट चोरिएको मेसिन भारतमा फेला परेको छ् । विराटनगरबाट गोलबजारतर्फ जाने क्रममा कोसी गाउँपालिका वडानम्बर ४ स्थित कोसी कटान क्षेत्रबाट ट्याक्टर लुटिएको थियो ।

गत शुक्रबार राति अन्दाजी साढे ११ बजेको समयमा विराटनगरबाट बोरिङ मेसिनजस्तो देखिने मेसिनरी सामग्री बनाएर मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारतर्फ फर्किने क्रममा सुनसरी जिल्लाको कोसी गाउँपालिका वडानम्बर ४ स्थित पूर्व–पश्चिम राजमार्गबाट ना.७ प २७४५ नम्बरको ट्याक्टर लुटिएको थियो ।

तीनवटा मोटरसाइकलमा आएका अन्दाजी ६–७ जनाको टोलीले पेस्तोल देखाएर आफूहरूको आँखामा कालोपट्टी बाँधेर उल्लेखित नम्बरको ट्याक्टर लिएर भागेको ट्याक्टर चालक अन्दाजी ३० वर्षका रामउद्देश महतोले प्रहरीसमक्ष बयान दिएका थिए ।

ट्याक्टर लुटिएपछि गाडी धनी ओम श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक दलकुमार राई नेतृत्वको टोलीले जिल्ला अररियाको विभिन्न क्षेत्रमा खोजी गर्दा अररियाको बबुवान क्षेत्रमा एक जना वडासदस्यको घरबाट बोरिङ मेसिन फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले जानकारी दिए ।

फेला परेको बोरिङ मेसिन हाल जिल्ला प्रहरी कार्यालय सुनसरीले जिम्मा लिएको छ भने ट्याक्टर पत्ता नलागेको हुँदा अनुसन्धान भइरहेकोे सुनसरी प्रहरीले जनाएको छ ।