भद्रपुर । हल्दीबारीमा भू–उपयोग तथा जग्गा वर्गीकरण नीतिविरुद्ध तीव्र विरोध भएपछि गाउँपालिकाले अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।
जग्गा भू–उपयोग वर्गीकरणसम्बन्धी विषयमा गाउँपालिकामा नेकपा (एमाले), नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले बुझाएको ज्ञापन–पत्रका मागहरूलाई सम्बोधन गर्दै गाउँपालिकाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्य–सचिवमा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईं रहेका छन् भने सदस्यहरूमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सबै वडाध्यक्षहरू, क्रियाशील राजनीतिक दलका एक–एक जना प्रमुख तथा प्रतिनिधिलाई राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले जानकारी दिए । समितिले जग्गा वर्गीकरणका सम्बन्धमा आएका समस्याहरूको पहिचान गर्ने र समाधानका लागि अघि बढ्ने निर्णय गरेको उनको भनाइ छ ।
हल्दीबारीमा वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नभएको भन्दै राजनीतिक दलहरूले चरणबद्ध आन्दोलन घोषणा गरेपछि थप विवाद नहोस् भनेर राजनीतिक दलसहित मङ्गलबार बिहान बसेको बैठकमा सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।
गाउँपालिकाको भू–उपयोग तथा जग्गा वर्गीकरण कार्यमा केही प्राविधिक समस्या देखिएकाले केही समयका लागि जग्गा अद्यावधिक सिफारिस कार्य स्थगित गरिएको उनले बताए । समस्या समाधानका लागि आज (बिहीबार) मालपोत कार्यालय झापामा नापीका प्राविधिक, प्रमुख मालपोत अधिकृत, राजनीतिक दल, सहजीकरण समितिसहित छलफल हुने उनले जानकारी दिए ।
साथै ध्यानाकर्षण पत्रमा माग भएबमोजिमको कर्मचारीको नियुक्तिका सम्बन्धमा गाउँपालिकाले नियमबमोजिम कार्य गर्ने तथा रोकिएका आयोजनाहरूलाई स्रोत साधन र बजेटको उपलब्धता हेरी कार्यान्वयन गरिने समेत निर्णय गरिएको जनाइएको छ ।