धनकुटा । किराँत राई यायोख्खाको ३६ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्य समिति धनकुटाले सोमवार वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। 

धनकुटा नगरपालिका वडा नम्बर ६ राई कुवा टोलमा रहेको साकेला पार्कमा किराँत राई यायोख्खा जिल्ला कार्य समिति धनकुटाले स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष उद्धवमणि राईकानुसार स्थापना दिवसको अवसरमा धनपा–६ राई कुवा टोल स्थित साकलाथानमा पूजाआजा साथै विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको छ । त्यसका साथै स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको छ ।

वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष पार्वती राई लगायतको सहभागिता रहेको थियो । 

त्यसै गरी किराँत आठपहरिया समाज धनकुटाको आयोजनामा मंगलवार धनकुटा नपा वडा नम्बर ७ चुलिवन पार्कमा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको छ ।

समाजका केन्द्रीय अध्यक्ष सरकुमारी आठपहरियाका अनुसार चुलिवनमा रहेको रिदमाहाङ–रामलिहाङ पार्क र आसपासको क्षेत्रलाई सरसफाइ गर्नुको साथै वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा समाजका अगुवाहरू, सामाजिक सङ्घसंस्थाको प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।