उर्लाबारी । २९ औँ विश्व आदिवासी जनजाति दिवस उर्लाबारीमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा मुख्य चौकमा भव्य कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कार्यक्रमको उद्घाटन गर्दै आदिवासी जनजातिको हक अधिकारको विषयमा सरकार संवेदनशील रहेको बताए । उनले नेपालको हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजातिको नेतृत्वदायी भूमिका रहेको बताए ।
मन्त्री किरातीले आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व सरकारको रहेको समेत बताए । कार्यक्रममा कोशी प्रदेश सांसद्हरू विद्या चाम्लिङ, निर्मला लिम्बू, नगरप्रमुख गङ्गाप्रसाद खरेल, पूर्व नगरप्रमुख खड्ग फागो, नेकपा (माओवादी) का नगर अध्यक्ष गजेन्द्र दङ्गाललगायतले आदिवासी दिवसको विषयमा मन्तव्य राखेका थिए ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्र सङ्घको साधारणसभाले अगष्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्र सङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । आयोजक परिषद्का नगर अध्यक्ष शम्शेर लिम्बूले सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रमा गरेको बताए ।