सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाले छ वर्षको अवधिमा जम्मा ४५ किलोमिटर कालोपत्रे गरेको छ ।
विकास निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाले छ वर्षको अवधिमा ४५ किलोमिटर मात्रै कालोपत्रे गरेको हो । आर्थिक वर्ष २०७५/०७६ मा बजेट, नीति तथा कार्यक्रममा सडक सञ्जाललाई प्राथमिकताका साथ राखिएको थियो ।
सीमावर्ती भारतीय बजार र सदरमुकाम इनरुवासँग तथा छिमेकी गाउँपालिकासँग सडक सञ्जाल जोड्ने योजनाअनुरूप ४५ किलोमिटर कालोपत्रे गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरिनगरा, घुस्की र भुटाहा बजार क्षेत्रमा कालोपत्रे गरेको हो । पाँच आर्थिक वर्षमा अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा उक्त सडक कालोपत्रे गरिएको गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँले जानकारी दिए ।
उनका अनुसार २०७४ सालको निर्वाचनबाट निर्वाचित भएर आएपछि सदरमुकाम इनरुवा जोड्ने एउटा सडक, भोक्राहा नरसिंह जोड्ने दुई वटा, देवानगञ्ज जोड्ने एउटा र भारतीय बजार घुर्ना, बसमतिया जोड्ने मुख्य दुई वटा सडकसहित ९ वटा सडक कालोपत्रे गरिएको छ ।
त्यसैगरी ९ वटा सडकमा कालोपत्रे गर्ने काममात्र तीव्रता दिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । दर्जनौँ कच्ची सडकमा कालोपत्रे गर्ने र उप्किएका ठाउँहरूमा मर्मत गरेर सुधार गर्ने काम भइरहेको अध्यक्ष मियाँले जानकारी दिए । जनप्रतिनिधिहरूले ल्याएको नीति तथा कार्यक्रममा सडकलाई प्राथमिकता दिएअनुसार सडक कालोपत्रे भएको सव–इन्जिनियर भागवत रामले जानकारी दिए ।