धरान । भुटानमा हुन लागेको १९ वर्षमुनिको ‘साफ च्याम्पियनसिप २०२३’ का लागि प्रदेशस्तरको छनौटबाट धरानको एम्स एकेडेमीमा अध्ययरत ७ जना खेलाडी राष्ट्रिय छनौटमा सहभागी हुने अवसर पाएका छन् ।
भुटानमा आउँदो असोज १३ गतेदेखि २३ गतेसम्म १९ वर्ष मुनिको च्याम्पियनसिप हुन लागेको छ । त्यसका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जिल्लास्तरको छनौट हुँदै प्रदेश र केन्द्रस्तरको छनौट राखेको छ । जसक्रममा एम्समा १२ कक्षाको परीक्षा दिइसकेका तीन जना परेका छन् भने हाल अध्ययनरत कक्षा ११ र १२ गरी चार जना विद्यार्थीहरू राष्ट्रियस्तरको छनौटमा सहभागी हुने अवसर पाएका छन् ।
एम्सका शिक्षक एवम् कार्यक्रम संयोजक युवराज अधिकारीले परीक्षा दिइसकेका र हाल अध्ययनरत विद्यार्थी गरी ७ जना राष्ट्रियस्तरको छनौटमा सहभागी हुने अवसर पाएको बताए । उनका अनुसार परीक्षा दिएका पुजन थापा, असिमजङ कार्की र अमित आङ्बो छन् ।
यस्तै अध्ययरत कक्षा १२ का युनिस बुढाथोकी, कक्षा ११ मा उत्सव थापा मगर, प्रशान्त कार्की र प्रवीन भुजेल रहेका छन् । युनिस १७ वर्ष मुनिका राष्ट्रिय खेलाडीसमेत हुन् । उनीहरूलाई कलेजका प्राचार्य मित्र तामाङ, व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीलगायत शिक्षकले बधाई ज्ञापन गर्दै छनौट हुन शुभकामना दिए । जिल्ला तथा प्रदेशस्तरमा साउन १९ गते र साउन २२ गते छनौट गरिएको थियो ।