भद्रपुर । झापाको पूर्वी नाका काँकरभिट्टाको निगरानी गर्न ४५ वटा सीसी क्यामेरा जडान गरिएको छ । विगतको ४२ वटा क्यामेराको मर्मतसम्भार गरिएको छ भने थप ३ वटा नयाँ क्यामेरा जडान गरिएको छ ।
नाकामा हुने गतिविधिलाई नियाल्नका लागि नयाँ र पुराना गरी ४५ वटा सीसी क्यामेरा जडान गरिएको हो । क्यामेरासँगै एक थान राडार (गति मापन) गर्ने यन्त्र पनि जडान गरिएको छ । भारतको पानीट्याङ्की तर्फबाट नेपाल छिर्ने मुख्य नाका काँकडभिट्टा पर्दछ । सो नाकाबाट अवैध निकासी पैठारी, मानव बेचविखन, चोरीलगायत कानूनले निषेध गरेका क्रियाकलापहरू हुँदै आएका छन् । सीमाक्षेत्र लगायत बजारमा क्यामेरा नभएका कारण अवैध गतिविधिको अनुसन्धान गर्ने निकायलाई समस्या देखिएको थियो । क्यामेरा राख्ने विषयमा एक दशकयतादेखि छलफल भई केही थान क्यामेरा जडान पनि गरिएको थियो । तर, उचित व्यवस्थापन नहँुदा जडान गरिएका क्यामेरा पोलमा नै बिग्रिएका थिए ।
पुनः क्यामेरा जडान गर्ने विषयमा पछिल्लो समय इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा पर्यटन तथा यातायात व्यवस्थापन, मेचीनगर नगरपालिका, उद्योगी, व्यवसायी, समाजसेवीबीच छलफलपश्चात् जडान गरिएका क्यामेराको स्थितिका विषयमा खोजी कार्य गरिएको थियो । जडान गरिएका ४२ ओटामध्ये ४ ओटा हराएको, ६ ओटा सञ्चालनमा रहेको र बाँकी नचल्ने अवस्थामा रहेको मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुिक्त पौडेलले बताए । क्यामेराको यो अवस्था देखिएपछि प्राविधिक स्टिमेट गराएर १ लाख ८१ हजारमा ३८ ओटा मर्मत र हराएका ४ ओटा नयाँ गरी ४२ ओटा क्यामेरालाई सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष पौडेलले जानकारी दिए । बिहीबार जडान गरिएको प्रदेश सरकारबाट १२ लाख मूल्य बराबरको एक थान रडार (गति मापन)सहितको क्यामेरा र त्यसैगरी काँकरभिट्टा खानेपानी कार्यालयबाट ५१ हजार मूल्यका २ गरी ४५ ओटा क्यामेरा सञ्चालनमा आएको उनले बताए ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा राडारसहित सीसी क्यामेरा जडान गरिएको उनले जनाए । हाल मर्मत गरिएको खर्च भने मेचीनगर नगरपालिकाले भुक्तानी गर्ने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले प्रतिबद्धता दिएको उनले बताए । विगतका क्यामेरा जडानमा अनुमानित साढे १४ लाख खर्च भएको उनको भनाइ छ । अर्कोतर्फ वित्तीय कारोबार गर्ने र टोल विकास संस्थासँग पनि समन्वय गरेर संवेदनशील क्षेत्रमा क्यामेरा थप जडान गरिने लक्ष्य रहेको उनको भनाइ छ । क्यामेरालाई मुख्य प्रवेशद्वारको पूर्व–पश्चिम, भट्टराई चोक, बस पार्क, होटल लाइन, भानु टोल, मुख्य सडक, वडा कार्यालय, मेची पुल, बाहुनडाँगी सडक, सतीघट्टालगायतका स्थानमा राखिएको उनी बताउँछन् । अप्टिकल फाइबरमार्फत् ५ मेगापिक्सलको नाइटभिजन क्यामेरा पनि सञ्चालनमा रहेको उनले बताए ।
जडान गरिएका क्यामेराको निगरानी इलाका प्रहरी कार्यालयबाट हुने इलाका प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले बताए । सीसी क्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने उनले बताए । गति मापन क्यामेराले ६ महिनासम्मको गतिविधि रेकर्ड रहनेसमेत उनले बताए । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने भारती बताउँछन् । सीसी क्यामेरा जडानमा मेची सामुदायिक सेवा केन्द्रले संयोजन गर्दै आएको उनले बताए । क्यामेरा सञ्चालनमा आएपछि प्रहरीलाई काम गर्न सजिलो भएको उनको भनाइ छ ।