भद्रपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले खुल्ला युथ मिनी म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास भन्ने मूल नाराका साथ युवा दिवस मनाइएको हो ।

भद्रपुर–२ सगरमाथा चोकबाट शनिबार बिहान ८ बजे सुरु भएको दौड भद्रपुर–६ स्थित नगरपालिकाको गेटसम्म ८ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको थियो । दौडमा पुरुषतर्फ राजन मेन्याङ्वो प्रथम, द्वितीयमा दीपेश तामाङ, तृतीय सुदीप लुम्बा र सान्त्वना सन्तोष साउद भएका थिए । त्यसैगरी महिलातर्फ सुश्मिता राई, गीता श्रेष्ठ, जुनु राई र मुना पोखरेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।

विजेतालाई जनही १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाण–पत्रले पुरस्कृत गरिएको थियो । विजेताहरू सुष्मिता राई राष्ट्रिय खेलाडी हुन् भने बाँकी नेपाली सेनामा बहालवाला हुन् । ६५ जना पुरुष र १४ महिलाले दौडमा भाग लिएका थिए । दौड पूरा गर्ने सबै खेलाडीलाई सहभागिताको प्रमाण–पत्रसमेत वितरण गरिएको थियो ।

सोही अवसरमा गत जेठ १८ र १९ गते २ सय जना युवाको सम्मेलनबाट तयार पारिएको घोषणा–पत्र पनि नगरप्रमुख गणेश पोखरेलसहित जनप्रतिनिधिले सार्वजनिक गरेका थिए । घोषणा–पत्रलाई भद्रपुर युवा परिषद्  समितिका सदस्य योगेन्द्र पौडेलले वाचन गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख तथा नगर युवा परिषद्का संयोजकसमेत रहेका पोखरेलले सम्पूर्ण युवाहरूलाई ऊर्जाशील बनाउनका लागि एकै ठाउँमा गोलबद्ध बनाउने यो कार्यक्रमको उद्देश्य रहेको बताए । २०७६ सालबाट भद्रपुर नगर क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको उनले जनाए । परिषद्का उपाध्यक्ष सरोज ढकालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडाध्यक्षको तर्फबाट ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गाना, कार्यपालिका तर्फबाट सदस्य सीता गुरागाईं र नगरका उपप्रमुख राधा कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।