मोरङको बेलबारीमा अन्त्येष्टि गर्दै गरेको शव खोलाले बगाएपछि पुनः खोलाबाट निकालेर अन्त्येष्टि गरिएको छ । 

शनिबार बेलबारी ३  का मेघराज कोइरालाकी ७३ वर्षीया आमाको मृत्यु भएपछि लोहन्द्रा खोलाको किनारमा  शव जलाउने क्रममा अचानक खोलामा आएको बाढीले शव बगाएको  वडाध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले बताए । 

उनका अनुसार सीसौबारीमा चित्ता बनाई शवलाई दागबत्ती दिएर जलाउने क्रममा खोलामा बाढी आएको थियो ।  खोलामा बाढी दुवै किनार भरिएर आएपछि मलामी जलिरहेको शव छोडेर भाग्नु पर्ने स्थिति बनेको वडाध्यक्ष  सुबेदीले बताए । 

आधा मात्रै जलेको शव खोलेले बगाएपछि शवको खोजतलास गर्दा सुन्दरहरैँचा १  गोविन्दपुरका स्थानीयले देखेर खबर गरेपछि पुनः शवलाई खोलाबाट निकालेर  बेलबारी १ स्थित  सिसौली सामुदायिक बन र बेतना सामुदायिक बनको सिमानामा खाल्डो खनेर पुरी अन्त्येष्टि गरेको वडाध्यक्ष सुबेदीले बताए  ।