धरान । झापाको शिवसताक्षी नगरपालिका–८ डुँडामारीस्थित पूर्व–पश्चिम राजमार्गमा बसस्टेन्डमा यात्रु झार्दै गरेको बसलाई ठक्कर दिँदा १२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

स्थानीय हरि श्रेष्ठका अनुसार आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२२ नम्बरको बसले बस स्टेन्डमा रोकी यात्रु झारिरहेको प्रदेश १–०२–००१ ख ९२६२ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको थियो । दुवै बस पश्चिततर्फ नै जाँदै गरेका थिए ।

दुवै बसमा सवार यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केही घाइतेको स्थानीय पुनर्जीवन मेडिकल झिलझिलेमा उपचार गरी डिस्चार्ज गरिएको छ भने थप जोखिम भएका बिरामीलाई बिर्तामोडको बिर्तासिटी हस्पिटल रेफर गरिएको छ ।

हाल उपचारको क्रममा सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै बसका चालक पनि सामान्य घाइते भएकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।