विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको छैठौँ बैठकले कोशी नाम खारेजीको मागसहित १३ बुँदे घोषणापत्र जारी गरेको छ ।

विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामेट गरी कोशी नामकरण गरिएकोप्रति असहमति जाहेर गर्दै कोशी नाम खारेज गर्नुपर्ने माग गरेको हो । फोनिजको २४ औं स्थापना दिवसको अवसरमा साउन २६ र २७ गते बसेको बैठकबाट विराटनगर घोषणा–पत्र जारी गरेको हो । घोषणा–पत्रको पहिलो बुँदामै प्रदेश १ को नामकरणको विषय समेटिएको छ ।

‘प्रदेशको नाम कोशी खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका आधारमा अविलम्ब ‘लिम्बुवान किरात’ नामकरण गर्न यो बैठक जोडदार माग गर्दछ’ घोषणा–पत्रमा भनिएको छ, ‘न्याय, समानता र पहिचान प्राप्तिको लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जारी राखेको आन्दोलनप्रति सदैव ऐक्यबद्धता व्यक्त गर्दै फोनिज प्रचारात्मक कार्यमा सदैव अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दछ ।’

फोनिजले आदिवासी जनजाति समुदायका मातृभाषामा प्रकाशित हुने र मातृभाषामा प्रसारण हुने सञ्चार माध्यमहरूलाई बचाउन विशेष प्रोत्साहनका कार्यक्रम ल्याउन, मातृभाषाका पत्रपत्रिका वर्गीकरणमा विशेष सुविधा उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । फोनिजले सरकारी तथा निजी सञ्चार माध्यमहरूमा नियुक्ति गर्दा आदिवासी जनजाति, महिला, अल्पसङ्ख्यक, सीमान्तकृत, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समेत सहभागिता समावेशी समानुपातिक सिद्धान्तका आधारमा गर्न गराउन माग गरेको छ।

यस्तै नेपाल पत्रकार महासङ्घका संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने तथ्य प्रस्तुत गर्दै बैठकले संस्थापक सभापतिमा उनै श्रेष्ठलाई कायम गर्न माग पनि गरेको छ । नेपाल पत्रकार महासङ्घले चलाएको सदस्यता शुद्धीकरण अभियानको नाममा फोनिज र गैरफोनिज कसैलाई पनि राजनीतिक आस्था, जातीय, लिङ्गीय, क्षेत्रीय आधारमा विभेद र निषेध नगर्न र सदस्यताबारे पुनरावलोकन गर्न पनि फोनिजले माग गरेको छ ।