धरान । धरान खानेपानी व्यवस्थापन बोर्ड खानेपानीको परीक्षण गराउन बाध्य भएको छ । बोर्डले नगरवासीलाई पिउन अयोग्य पानी वितरण गरेको तथ्य सार्वजनिक भएपछि पानीको परीक्षण गराउन बाध्य भएको हो ।

आइतबार नगरले पानीको रिपोर्ट सार्वजनिक गरी पानी पिउनयोग्य भएको दाबी गरेको छ । नगरले सार्वजनिक गरेको रिपोर्टमा कोका खोलाबाट ल्याइएको पानीमा मात्र ‘कोलीफर्म’ भेटिएको उल्लेख छ । बोर्डका अध्यक्षसमेत रहेका धरान नगरप्रमुख हर्कराज राईले पानी पिउनयोग्य रहेको दाबी गरे । सङ्घीय खानेपानी आयोजना अन्तर्गतको इटहरी खानेपानी गुणस्तर मापन ल्यावमा गरेको परीक्षणमा कोका खोलाबाट ल्याइएको पानीमा दिसामा पाइने जीवाणु देखिएको छ ।

रिपोर्टअनुसार कोका खोलाबाट ल्याइएको पानीमा ‘कोलीफर्म’ को मात्रा एक देखिएको छ । यसअघि परीक्षण गरेको रिपोर्टले पिउन अयोग्य पानी वितरण गरेको भन्दै आलोचना भएपछि बोर्ड पानीको परीक्षण गर्न बाध्य भएको हो । धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलले विभिन्न १० प्यारामिटरमा आधारित रहेर गरिएको परीक्षण रिपोर्टले पानी पिउनयोग्य नै देखिएको बताए । उनले साउन २५ गते प्राविधिकसहित ल्यावबाट आएको टोलीले  कोका खोला, धरान– ११ विष्णुचोक, धरान–१७  वडा कार्यालय, सर्दु, खर्दु, निसानेको पानी वितरण हुने धरान–११ स्वस्तिक चोक र धरान–१८ बाट पानीको नमुना सङ्कलन गरिएको थियो ।

बोर्डले खानेपानीको ट्याङ्कीमा ‘लिक्विड क्लोरिन’ हालेको दुई दिनपछि बस्तीमा खानेपानी परीक्षण सुरु गरेको थियो । २३ गते निशानेको  २ लाख लिटरको ट्याङ्कीमा १ किलो क्लोरिन हालिएको थियो । शुद्धीकरण गरेर पानीको नमुना सङ्कलन गरेको विषयमा पानी शुद्धीकरणपश्चात् धारामा पठाइने गरेको नगरप्रमुख राईले दाबी गरे ।

तर, बोर्डले पानी परीक्षणका लागि नमुना सङ्कलन गर्नुभन्दा दुई दिनअघि नै पानी शुद्धीकरणका लागि ‘लिक्विड क्लोरिन’ हालेको थियो । यसअघि गरेको पानी परीक्षणमा कोकाको पानीमा ५, सर्दु खोलामा रहेको रिजर्भेसन ट्याङ्कीमा १०, निशाने खोलामा निर्माण गरिएको पानी ट्याङ्कीमा २०,  गौधारा ट्याङ्कीमा ३५ र फुस्रेस्थित ट्याङ्कीको पानीमा ३० युनिट कोलीफर्म देखिएको थियो ।