धरान आदर्श कलेजका विद्यार्थीले घरेलु हतियारसहित ग्याङ फाइट गरेका छन् ।
मङ्गलबार कलेज बिदा भई विद्यार्थी बाहिरिने क्रममा सामूहिक ग्याङ फाइट गरेका हुन् । करिब १० जनाको समूहमा झगडा भएको थियो । उनीहरू दुवै पक्षले धारिलो हतियार खुकुरीसमेत प्रहार गरेका थिए । खुकुरी प्रहारबाट एक जना विद्यार्थीको हातमा सामान्य चोट लागेको थियो ।
धरान आदर्शका एकेडेमिक डाइरेक्टर मोहन पोखरेलका अनुसार अशोक गुरुङ सामान्य घाइते भएका हुन् । उनी १२ मा अध्ययनरत विद्यार्थी हुन् । डाइरेक्टर पोखरेलले पहिलेको रिसइबीका कारणले झगडा भएको जानकारी आए पनि यथार्थ आइनसकेको बताए ।
उनले भने, ‘सबै विद्यार्थीलाई भोलि बोलाएका छौँ । भोलि थाहा हुन्छ ।’ प्रत्यक्षदर्शी स्थानीयका अनुसार झगडा गर्ने दुवै विद्यार्थी समूह धरान आदर्शकै हुन् । कर्मचारीले केही विद्यार्थीलाई पक्राउ गरी कलेजतर्फ लगेको भए पनि हतियार बोकेको विद्यार्थी भने भागेको प्रत्यक्षदर्शीले बताए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले प्रहरी गए पनि झगडा गर्ने समूह फेला नपरेको जानकारी दिए ।