इनरुवा । मिटर ब्याजविरुद्धको सुनुवाइमा सुनसरी प्रशासनले सफलता हात पारेको छ । ४ करोड ६० लाख दाबीसहितको मिटर ब्याजीविरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको छ ।
आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्षअघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्ससमेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए ।
मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तिएपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको मागसहित सुनसरी प्रशासनमा उजुरी दिएको सुनाए । उजुरी उपर छानबिनपश्चात् प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुसी व्यक्त गरे ।
यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटर ब्याजीविरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन् । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउन सके पीडितले सहजै न्याय पाउने बताइन् । प्रजिअ पाण्डेले जिल्लामा ५ सय बढी मिटर ब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिइन् ।