भद्रपुर । नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष छितिज थेवेले अबका युवा सामाजिक सञ्जालमा कालो अरिङ्गाल भएर खनिनु पर्ने बताएका छन् ।

झापाको भद्रपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो नगर अधिवेशनलाई आइतबार सम्बोधन गर्दै थेवेले केपी ओलीले बनाएको पुलको चर्चा छैन तर, त्यही पुलमा दुईवटा फूल रोप्नेको चर्चा सामाजिक सञ्जालभरि छाएको बताए । उनले अबका युवाले सामाजिक सञ्जालमा जोडिएर जसले पार्टीलाई गाली गर्छ, उसलाई सबै मिलेर रिपोर्ट गरेर उसको सामाजिक सञ्जालको एकाउन्ट बन्द गर्नुपर्ने धारणा राखे ।

त्यस्ता गतिविधिको विरुद्धमा गएर गाली गरेर उसको गतिविधिलाई निस्तेज पार्नुपर्ने बताए । ओली सरकारको पालामा भारतले नेपाली भूमि अतिक्रमण गरेको बेलामा चुच्चे नक्सा सार्वजनिक गरेका थिए भने अरू पार्टीको सरकारले त्यो चुच्चे नक्सालाई बुच्चे बनाएको पनि थेवेले आरोप लगाए । ओली सरकारकै पालामा सगरमाथामा संवाद भनेर ग्लोवल वार्मिङको विषयमा कार्यक्रमको थालनी गरे पनि अहिलेको सरकारमा त्यो हराएको बताए ।

जङ्गलमा लगाइने वृक्षरोपणमा फलफूूललगायत बहुमूल्य रुखहरू रोप्ने बताउँदै ग्लोवल वार्मिङको समस्या पनि घट्ने र फलफूूलले गर्दा अहिले किसानले भोग्नु परेको जङ्गली जनावरको आतङ्क विशेषगरी बाँदर र हात्तीको उपद्रोलाई निराकरण गर्न सकिने बताए ।

कार्यक्रममा दुःखीको घर युवाको भर भन्दै पक्षाघातबाट थला परेकी भद्रपुर नगरपालिका–७ की अनुपा सापकोटालाई उपचार खर्च सहयोगस्वरूप २० हजार आठ सय ७० रुपैयाँ प्रदान गरियो । यस्तै मेची खोलामा पौडी खेल्ने क्रममा डुबेका बालकलाई बचाउन सफल भएका भद्रपुरका दुई बालक, अनुसन्धानको खोजीमा नयाँ तथ्य निकाल्ने लगायत सामाजिक क्षेत्रमा योगदान पु¥याउनेलाई पनि सम्मान गरिएको थियो ।