विजयपुर । महेन्द्र बहुमुखी क्याम्पस धरानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) शीषर्कमा शुल्क वृद्धिको विषयमा भएको दोस्रो चरणको छलफल पनि निष्कर्षविहीन टुङ्गिएको छ ।

शुल्क वृद्धिविरुद्ध विद्यार्थी र अखिल क्रान्तिकारीले असहमति जनाएपछि मङ्गलबार पनि छलफल भएको थियो ।मङ्गलबार बैठक बसे पनि छलफल निष्कर्षमा पुग्न सकेको थिएन । शुल्क वृद्धिको विषयमा ब्लाष्ट दैनिकले समाचार प्रकाशित गरेको थियो । स्ववियुमा एकैपटक १ सय रुपैयाँबाट ५ सय रुपैयाँ वृद्धि गरेको थियो । प्रतिशतका आधारमा पाँच सय प्रतिशतले वृद्धि भएको हो । तर, बुधबार प्रकाशित समाचारमा असावधानीवश ८० प्रतिशत मात्रै हुन पुगेको थियो ।

बुधबारको बैठक सहमतिनजिक पुगे पनि निर्णय लेख्न बाँकी रहेको स्ववियु सभापति युवराज राई रसिकले जानकारी दिए । उनले भने, ‘सहमतिनजिक छौँ । माइन्यूट गर्न बाँकी छ । भोलि (बिहीबार) निष्कर्षमा पुग्छौँ ।’ विद्यार्थीलाई मर्का नपर्ने गरी न्यून प्रतिशत मात्रै वृद्धि भएको उनले बताए । त्रिभुवन विश्वविद्यालयको नीतिअनुरूप प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्नुपर्ने प्रावधान भए पनि स्ववियुको शीर्षकमा ५ सय प्रतिशतले वृद्धि गरेको हो ।

क्याम्पसले २०७९ भदौ २३ गते चार वर्षे स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सूचनामा शैक्षिक वर्ष २०७९/०८० समूहका व्यवस्थापन र मानविकी सङ्कायतर्फका विद्यार्थीले ५ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने सूचना गरेको थियो । शिक्षाशास्त्र सङ्कायतर्फ ६ हजार ८ सय रुपैयाँ शुल्क रहेको छ । शैक्षिक वर्ष २०८०/०८१ समूहका ४ वर्षे स्नातक तह प्रथम वर्षमा व्यवस्थापन र मानविकी सङ्कायतर्फका विद्यार्थीले भर्नाका लागि ५ हजार ९ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । अन्य शीर्षकमा वृद्धि नगरिए पनि स्ववियु शुल्क मात्रै एकैपटक १ सय रुपैयाँबाट ५ सय रुपैयाँ वृद्धि गरिएको छ ।

यस्तै शिक्षाशास्त्र सङ्कायतर्फका स्नातक तहमा पहिलो वर्ष भर्नाका लागि सात हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । शुल्क वृद्धिको विषयमा केही विद्यार्थी युनियनबाहेक अन्य सबैको समर्थन रहेको थियो । सोही कारणले क्याम्पसले वृद्धि गरेको क्याम्पस प्रशासनले बताउँदै आइरहेको छ ।