सुनसरी । सीमावर्ती क्षेत्रमा निगुरो बेचेर भारतीय नागरिकले राम्रो आम्दानी गरिरहेका छन् । भारतीय विभिन्न जङ्गल क्षेत्रमा टिपेको निगुरो ल्याएर उनीहरूले कोसी गाउँपालिका–८ भण्टाबारीमा बेच्ने  गरेका छन् ।

भारत बिहार राज्यस्थित सुपौल जिल्ला बस्ने २९ वर्षीया रानीदेवीले तीन वर्षदेखि निगुरो टिप्न थालेकी छन् । उनको गाउँबाट जङ्गल जाने उनी मात्र होइनन् । निगुरोको सिजन सकिएपछि गाउँमै मजदुरी गर्ने उनी सुनाउँछिन् । सिजनमा मासिक १२ देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले सुनाइन् ।

केही वर्षयता भारत बिहारको भीमनगर, वीरपुर, बिसनपुरका धेरै स्थानीय नेपालमा निगुरो बेचेर गुजारा गर्दै आएका छन् । बिहार भीमनगरकी आशादेवी निगुरो बेच्न दिनहुँ सुनसरीको भण्टाबारी आउँछिन् । श्रीमान्को कमाइले मात्र गुजारा धान्न धौधौ परेपछि श्रीमतीले निगुरो टिपेर बेच्न थालेकी उनी बताउँछिन् ।

भारतमा निगुरो कमैले मात्र खाने गरेको भुलोदेवी गुप्ता बताउँछिन् । उनी दैनिक प्रतिमुठ्ठा ८ देखि १० रुपैयाँको दरले सय मुठ्ठा बेच्ने गरेको सुनाउँछिन् । निगुरो बेचेर छोराछोरी पढाउन सजिलो भएको उनीहरू सुनाउँछन् । उनीहरूका अनुसार दैनिक ३ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।