विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालयको गाडी जलाएका छन् । विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको परीक्षा नियन्त्रण कार्यालयको गाडी मङ्गलबार बिहान ५ बजे जलाएका हुन् ।
मानविकी सङ्कायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै विद्यार्थीले गाडी जलाइदिएको बताइएको छ । सन्ध्या कायस्थले लेखेको अङ्ग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर–पुस्तिकासँग साटेका थिए । रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएको विद्यार्थीको आरोप छ ।
उत्तरपुस्तिका साटेको विषय क्याम्पस प्रशासनलाई जानकारी गराए पनि पीडित विद्यार्थीको रिजल्ट सच्चिएको थिएन् । नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले पुनः परीक्षा लिएको थियो । तर, उक्त रिजल्ट आएको छैन ।
२०७८ मङ्सिरमा भएको पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षामा ६०००३००८२ सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर, उनले थप गरेको उत्तरपुस्तिका गार्डले आफ्नो छोरीकोमा राखेको विद्यार्थीहरूको आरोप छ ।
असोज २ गते डिग्री क्याम्पस विराटनगरमा सन्ध्या कायस्थको रिजल्टको विषयमा महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईंसहित छलफल भएको थियो ।
समस्या समाधान नभएपछि विद्यार्थीले दुई जनालाई अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल विना निष्कर्ष टुङ्गिएपछि राति करिब १ बजे क्याम्पस प्रमुख तिम्सिना र प्रसाईंलाई प्रहरीले उद्धार गरेको थियो ।
त्यसपछि आक्रोसित विद्यार्थीले राति नै जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरे । राति महेन्द्र मोरङ क्याम्पसअगाडि टायर बालेर विरोध गरेका विद्यार्थीले मङ्गलबार बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा. १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो लगाएका थिए ।
मोरङ प्रहरीले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगजनी गर्नेको खोजी कार्य तीव्र बनाएको छ । ‘गाडीमा आगजनी गर्नेलाई पक्राउ गर्नेछौँ’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले भने, ‘सरकारी गाडीमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनेछौँ ।’