इनरुवा नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा सुविधा ग्याँसको तौल कम भेटिएको छ ।

बजार अनुगमनको क्रममा उपप्रमुख बिनिता मेहता संयोजकत्वको टोलीले सिलबन्द ग्याँस जोख्ने क्रममा सुविधा ग्याँसको तौल कम पाएको हो । बजारमा लामो सयमदेखि ग्याँस कारोबार गर्दै आएको अंशु ग्याँस पसलमा अनुगमन टोलीले सुविधा ग्याँसको सिलिण्डर जोखेको थियो ।

सो क्रममा अनुगमन टोलीले प्रत्येकजसो ग्याँस सिलिण्डरमा ३ सयदेखि ४ सय ग्राम ग्याँस कम पाइएको थियो । अनुगमन टोलीले ग्याँस मापन गर्ने क्रममा पसल सञ्चालकले आफ्नो काँटा बिग्रिएको जानकारी गराउँदै सही मापन गर्ने भन्दै छिमेकीको पसलबाट काँटा झिकाउन सहयोग गरेका थिए । टोलीले सोही आधारमा सिलबन्द ग्याँस सिलिण्डर जोखेको थियो । 

छड्के जाँचका रूपमा जोखिएको सिलिन्डरमा ग्याँस कम पाइएपछि अनुगमन टोलीले बिक्रीका लागि राखिएका अन्य ग्याँस सिलिण्डरसमेत तौलिएको थियो । एकपछि अर्को सिलिण्डरमा तौल कम पाइएपछि अनुगमन टोलीले बिक्रीका लागि गोदाममा राखिएका अन्य सिलिण्डरसमेत जोखेको थियो । सो क्रममा समेत तौलमा कमी पाएपछि नगरप्रमुखले ग्याँस जफत गर्न टोलीलाई निर्देशन दिएका थिए । 

नगरप्रमुख केदार भण्डारीले एकसाथ ठूलो सङ्ख्यामा सिलबन्द रहेका ग्याँस सिलिन्डरको तौल कम पाइएपछि उद्योग प्रशासनलाई फोनमार्फत् अनुगमनका क्रममा कालोबजारी भएको पाइएको भन्दै ग्याँस जफत गरिएको जानकारी गराएका थिए ।

सो क्रममा ग्याँस उद्योगले उपभोक्ता ठगी गरेको पाइएकाले नगरपालिकाले कानूनी कारबाहीको प्रक्रिया थाल्ने बताएका थिए । नगरप्रमुखको निर्देशनपश्चात् नगरप्रहरीले ग्याँस गोदाम कक्षमा तालाबन्दी गरेको छ भने नमुनाका रूपमा दशवटा सिलबन्द ग्याँस सिलिन्डर नगरपालिका लगेको छ । नगरपालिकाले कम्पनीका व्यक्ति आएपछि थप प्रक्रियाअघि बढाइने जनाएको छ । 

यता अनुगमन टोलीले ग्याँसको तौल कम भेटेको विषयमा पसल सञ्चालक व्यापारीले त्यसमा आफूहरूको कुनै पनि संलग्नता नरहने प्रतिक्रिया दिएका छन् । उनले कम्पनीबाटै सिलबन्द सिलिन्डर आउने भएकाले आफूहरूले बिक्री मात्रै गर्ने गरेको बताए । अघिल्लो दिन मात्रै २ सय थान ग्याँस सिलिन्डर आफूले किनेर बिक्रीका लागि पसलमा राखेको बताउने पसल सञ्चालकले सिलबन्द सिलिन्डरमा ग्याँस कमी भएको विषयमा भने स्वयम् कम्पनी जिम्मेवार हुने बताए । यता ग्याँसको तौल कम भेटिएको विषय सार्वजनिक भएलगत्तै मारुती ग्याँस उद्योग प्रा.लि. सोनापुरको प्रतिनिधि टोली नगरपालिका पुगेको छ । 

उद्योगबाट आएको टोलीले आफूले ल्याएको काँटामा सिलिण्डर जोखेको नगरपालिकाले जनाएको छ । सो क्रममा तौल अनुसारकै ग्याँस पाइएको भन्दै उद्योगका प्रतिनिधि टोलीले अनुगमनका क्रममा तौल जोख्न प्रयोग गरिएको काँटामा खराबी रहेको औंल्याएको नगरपालिका कार्यालयले जनाएको छ । यता अनुगमन टोलीमा सामेल उपभोक्ता मञ्च नेपालका अध्यक्ष अजय देवले प्रत्यक्ष जे देखियो र भेटियो, त्यही वास्तविक हुने बताए ।

उनले ग्याँस बिक्री गर्ने व्यक्तिले नै ठीक छ भनी उपलब्ध गराएको काँटामा आफूहरूले सिलिण्डर जोख्दा तौल कम पाएको र सोही आधारमा अनुगमन टोलीले एक्सन लिएको बताए । देवले अनुगमनको हल्लाखल्लापछि आफै ढक, काँटा लिएर आएको उद्योगका टोलीको मापनलाई आँखा चिम्लेर विश्वास गर्न नसकिने बताए । त्यही भएर उपप्रमुखसहितको टोली नापजाँचका लागि नापतौल कार्यालय जाने निर्णयमा पुगेको उनले बताए । 

यता ग्याँस बिक्री गर्ने पसलेले भने बमोजिमकै काँटामार्फत् सिलिण्डर जोखेको अनुगमन टोलीले उद्योगबाट काँटा लिएर आएको टोलीले गरेको नापमा फरक पाएपछि नापतौल कार्यालयमा गएर सिलिन्डर जाँच यकिन हुने जनाएको छ । सोही आधारमा अन्य विषय अघि बढ्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।

उता स्थानीय व्यापारीका अनुसार ग्याँस सिलिन्डरको तौल कम भएको विषय बाहिरिएपछि इनरुवा आएको उद्योगको टोलीले अनुगमन टोलीले सिलिण्डर जोख्न प्रयोग गरेको काँटा हेर्नुको साथै चलाएको थियो । सो क्रममा उसले उक्त काँटा बिग्रिएको भन्दै आफ्नो काँटा र उद्योगको तौल सही रहेको बताएको थियो ।

यसैबीच बजारमा ग्याँस बिक्रीमा नाम चलेको पसलमा राखिएका सिलिण्डरमा तौल कम भेटिएपछि सर्वसाधारणले अन्य ग्याँस पसलमा समेत अनुगमन हुनुपर्ने माग गरेका छन् ।