धरान । युएईमा कार्यरत धरानेहरूको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्याण्ड्स युएईको अध्यक्षमा पुनः ईश्वर श्रेष्ठ चयन भएका छन् ।
संस्थाको हालै सम्पन्न छैठौं महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन भएको हो ।संस्थाको उपाध्यक्षमा तीर्थ राई, ज्वाला श्रेष्ठ र अनुप तामाङ, महासचिवमा विक्रम तामाङ, सचिवमा मनोज मास्के, विनोद राई, देवान राई, रमेश खत्री र मनोजकुमार भुजेल, कोषाध्यक्षमा सुमित्रा लिम्बू र सह–कोषाध्यक्षमा ओमप्रकाश साह चयन भएका छन् भने सदस्यमा रमेश श्रेष्ठ, मेघराज लिम्बू र असिम चाम्लिङ राई चुनिएका छन् ।
दुबईको रेनर्टी होटलमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैर आवासीय नेपाली सङ्घ तदर्थ समिति युएईका अध्यक्ष तथा आदिबासी जनजाति महासङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक पासाङ शेर्पा सहभागी थिए । त्यस्तै विशेष अतिथिमा नेपाली समाज युएईका संस्थापक अध्यक्ष तथा समाजसेवी सी.पी. सापकोटा, नेपाली समाजका उपाध्यक्ष रेशम खनाल, नेवाः पुचः युएईका अध्यक्ष वीरेन्द्र नकर्मी सहभागी थिए ।
संस्थाका प्रमुख संरक्षक तथा निर्वाचन समिति संयोजक सोम तामाङ, सदस्य प्रकाश देवान, किशोर मादेनसमेतको समितिले नयाँ कार्य समितिको घोषणा गरेको थियो । कार्यक्रममा ओमप्रकाश साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विक्रम तामाङले साङ्गठनिक प्रतिवेदन तथा सुमित्रा लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थालाई लामो समयदेखि आर्थिक तथा विभिन्न सहयोग गर्ने व्यवसायी, खेलाडी लगायतलाई कदर–पत्र प्रदान गरिएको थियो ।