इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडबाड लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
दशैं, तिहार तथा छठ पर्वजस्ता ठूला चाडलाई मध्यनजर गर्दै तयार पारिएको विशेष सुरक्षा योजनालाई सुनसरी प्रहरीले शनिबारबाट कार्यान्वयनमा ल्याएको हो ।
आजबाट दशैं सुरु हुने भएकाले जिप्रका सुनसरीले जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै हिजो (शनिबार) बाट विशेष सुरक्षा रणनीति लागू गरेको छ ।
चाडबाडका समयमा हुन सक्ने आपराधिक घटनाक्रम तथा शान्ति सुरक्षामा खलल पुग्न सक्ने क्रियाकलापलाई ध्यानमा राखी सुरक्षा योजना तयार पारी जिल्लाभर लागू गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले मर्यादित र शान्तिपूर्ण तवरले चाडपर्व मनाउने वातावरण तयार पार्नका लागि जिल्लाभर एक हजार एक सयको सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
डिएसपी भण्डारीले सुनसरी प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत सूचना सङ्कलन, गाडी मोबाइल, मोटरसाइकल क्युआरटी, पैदल गस्ती, पिकेटिङ, एम्बुसजस्ता सुरक्षा प्रबन्ध अपनाइएको र आवश्यकताअनुसार प्रहरी टोली परिचालन हुने गरी बन्दोबस्ती मिलाइएको बताए ।
यसैबीच सुनसरी प्रहरीले चाडबाडका समयमा हुन सक्ने सम्भावित घटनाक्रमका बारेमा स्वयम् नागरिकसमेत सचेत र चनाखो हुुन आग्रह गरेको छ । अपराधसम्बन्धी कुनै पनि सूचना र जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न जिल्लावासी समक्ष आग्रहसमेत गरेको छ ।