धरान । धरान–१६ को सियोन स्कुलले मिस प्रोभिन्स आइडलकी विजेता माङ्सेमी लिम्बूलाई सम्मान गरेको छ ।
स्कुल परिसरमा बुधबार विजेता लिम्बूलाई सम्मानित गरिएको स्कुलका प्राचार्य खड्गबहादुर थापा मगरले जानकारी दिए । उनी सियोनमा कक्षा ११ मा पढ्दै छिन् । फाइनल प्रतिस्पर्धामा रहेका १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेर स्कुलको नाम राखेकोमा सम्मान गरिएको प्राचार्य थापा मगरले जानकारी दिए । उनले व्यक्तिगततर्फ मिस ट्यालेन्टको विधागत उपाधि पनि जितेकी थिइन् ।
त्यस्तै स्कुलमा अध्ययनरत कक्षा–११ की छात्रा निवासा लिम्बू, आयुसा श्रेष्ठले विधागततर्फ मिस फोटोजेनिक, मिस फ्रेन्ड्ली टाइटल जितेका थिए । कक्षा–१२ की छात्रा एन्जिला तामाङले बेस्ट क्याट वाकको टाइटल जितिन् । उनीहरूलाई प्राचार्य थापासहित सह–प्राचार्य राकेश चौधरी, लेखा प्रमुख एल्कन थापा मगरले बधाई तथा सम्मान प्रदान गरे । ड्रिम्स एम प्रोडक्सन प्रा.लि.को आयोजनामा असोज २७ गते धरानमा फाइनल भएको थियो ।