विराटनगर । विराटनगर विमानस्थलभित्रको होटलमा मनलाग्दीरूपमा खाद्यवस्तु बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विराटनगर विमानस्थलमा बुधबार अनुगमनको क्रममा विमानस्थलभित्र होटलमा मनलाग्दीरूपमा खाद्यवस्तु बिक्री वितरण गरेको पाइएको हो ।
विमानस्थल क्षेत्रभित्र तीन वटा होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् । मन्त्री किरातीले आकस्मिकरूपमा गरेको अनुगमनको क्रममा व्यवसायीहरूले अधिकतम खुद्रा मूल्यभन्दा बढी मुनाफा राखेर खाद्यवस्तुहरू बिक्री वितरण गरेको सेवाग्राहीहरूले गुनासो गरेका थिए ।
यहाँका होटल तथा रेष्टुरेन्टमा पानी, कफी, जङ्कफुडलगायतका खाद्यवस्तुहरू एमआरपी मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेको पाइएको थियो । यहाँका रेष्टुरेन्ट तथा क्याफेले बढी मुनाफा राखेर चिसो पेयपदार्थ, चाउचाउ, बिस्कुट र खानेपानीलगायतका सामान बिक्री वितरण गरेको भेटिएको छ ।
अनुगमनका क्रममा तोकिएको अधिकतम खुद्रा मूल्यभन्दा बढी मुनाफा राखेर खानेकुरा बिक्री वितरण गरेको पाइएपछि मन्त्री किरातीले यसलाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् । जनताको गुनासो सम्बोधन नभएको सूचना प्राप्त भएपछि मन्त्री किरातीले विराटनगर विमानस्थललाई समेत क्यू.आर. कोड स्क्यानर राखेर जनताले सिधै मन्त्रालयमा सूचना दिन पाउने प्रणालीको विकास गर्न निर्देशन दिए ।
अनुगमनका क्रममा होटल व्यावसाय सञ्चालकहरूले भाडादर महँगो भएका कारण अधिक मुनाफा राखेर सामान बिक्री गर्नुपरेको गुनासो गरे । महँगो भाडादरको भार आम जनताले बोक्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै मन्त्री किरातीले विषय स्पष्ट पारेका थिए । पसल व्यवसाय सञ्चालकहरूले तिर्दै आएको भाडादरको विषयसमेत तत्काल नियमन गर्न मन्त्री किरातीले निर्देशन दिए । मन्त्रीको निर्देशनपश्चात् विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाले पसल व्यवसायीहरूसँग नयाँ सम्झौता गरिने बताए । एमआरपी मूल्यमा खाद्यवस्तु बिक्री वितरण गर्न निर्देशन दिए ।
मन्त्री किरातीले यसअघि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अनुगमन गरेका थिए । त्यहाँ पनि सामानमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएको पाईएपछि उनले सुधार गर्न निर्देशन दिएका थिए ।