विजयपुर । धरान उपमहानगरपालिकाको बुधबारका लागि तोकिएको बैठक बस्न सकेन । कार्यपालिका सदस्यहरू अनुपस्थित भएपछि कार्यपालिका बैठक बस्न नसकेको हो ।

यसअघिको कार्यपालिकाका बैठक नगरप्रमुख हर्कराज राईले अनियमित तरिकाले कर्मचारी नियुक्त गरेको र शनिबार पनि सरकारी गाडी प्रयोग गरेको विषयमा कुरा उठेपछि उनले आक्रोशित हुँदै बैठक स्थगित गरेका थिए । नगरप्रमुख राईले बोलाएको बुधबारको कार्यपालिका बैठकमा वडासदस्यहरू उपस्थित नभएकोले कार्यपालिका बैठक स्थगित भएको हो ।

धरान–१७ का वडाध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले यसअघिको कार्यपालिका बैठक विना कारण सनकमा आएर नगरप्रमुख राईले स्थगित गरेकाले आफूहरू बुधबारको बैठकमा उपस्थित नभएको बताए । उनले भने, ‘यसअघिको कार्यपालिका बैठक कार्यपालिका सदस्यहरूले वहिष्कार गरेको होइन । मेयर आफैले सनकमा स्थगित गरेका हुन् ।’ प्रवक्ता भट्टराईले कार्यपालिका बैठकबाट कार्यपालिका सदस्यहरूलाई निस्केर जाओ भनेको बताउँदै भने, ‘मेयरलाई मन नलाग्दा स्थगित गर्ने, मन लाग्दा बैठक बस्नुपर्ने ? कार्यपालिका सदस्यको पनि स्वाभिमान होला, मर्यादा होला नि ?’