धरान । धरान महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति युवराज राई ‘अलौकिक’ माथि आक्रमणको प्रयास भएको छ ।

क्याम्पसको छात्रवृत्तिको विषयमा विवाद झिकी उमेश परियारको समूहले मङ्गलबार आफूमाथि आक्रमणको प्रयास गरेको सभापति राईले जानकारी दिए । उनका अनुसार आफूमाथि घरेलु हतियार तथा लठ्ठीले प्रहार गर्न खोजे पनि छलिएको र साथीहरूले बचाएका कारण क्षति पुगेन । परियारसहित तीन जनाको समूहमा आएका उनीहरूले आक्रमण गरे पनि साथीहरूका कारण बाँच्न सफल भएको बताए ।

यता आक्रमणमा संलग्न उमेश परियारले आफूबाट गल्ती भए पनि सामान्य मुखामुख मात्रै भएको बताए । ‘घटना केही घटेको छैन, मुखामुख मात्रै भएको हो’–फोनसम्पर्कमा भने । स्ववियुले मङ्गलबार नै छात्रवृत्तिका लागि छनौट भएकाहरूको नामावलीको सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा दाबी विरोध गर्नका लागि एक साताको समय दिइएको थियो ।

तर, परियारको समूहले पहाडतिरको मान्छे नपरेको धरानभित्रकै मान्छेलाई मात्रै दिन लागिएको भन्दै विरोध गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले स्ववियु सभापतिमाथि प्रहार भन्ने कुरा आएपछि के भएको रहेछ भनेर बुझ्न घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएको बताए ।