सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् ।
वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाई कटाइको काम गर्दै आएको स्थानीयवासी चन्द्रकला राईले बताइन् । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उनको भनाइ छ । सिलाइकटाइ व्यवसायबाट घर खर्चको जोह गर्न सहजता भएको उनले बताइन् ।
‘वडामा नै सीप पाएपछि अहिले यही व्यवसाय सञ्चालन गरेकी छु’उनले भनिन्, ‘हामी जस्ता गृहणी महिलालाई अन्य ठाउँमा गएर सीप लिन समस्या हुन्छ । आफ्नै ठाउँमा वडाको पहलमा सीप पाएसँगै यही सिलाइकटाइ व्यवसाय गर्दै आएकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ ।’
सीप लिएपछि आत्मनिर्भर बन्नमा सहजता थपेको स्थानीयवासी रेनु राईले बताइन् । स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको उनको भनाइ छ । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उनले बताइन् ।
‘सीप नुहँदा कुनै पनि काम गर्न सकेकी थिइन’ उनले भनिन्, ‘घर धन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो । वडाले तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएपछि आफैँ स्वरोजगार बनेकी छु । अहिले यही कामले घरखर्च जोह गर्न सहजता भएको छ ।’
वडा कार्यालयले सीप लिन इच्छुक २५ जना महिलालाई आवश्यक तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएको हो । वडाले यहाँका महिला तथा युवालाई स्वरोजगार बनाउनको लागि रोजगारीलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताए ।
स्थानीयलाई स्वरोजगार बनाएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजनाका साथ काम गरिरहेको उनको भनाइ छ ।
‘वडाले रोजगारलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ वडाध्यक्ष राईले भने, ‘स्थानीयवासीको क्षमता वृद्धिसँगै आवश्यक सीप दिँदै आएका छौँ । गतवर्ष सिलाइकटाइको तालिम लिएका महिला दिदीबहिनीलाई मेसिन पनि वितरण गरेका छौँ । धेरै दिदीबहिनी अहिले व्यवसायमा जोडिनुभएको छ ।’
युवालाई स्वरोजगार बनाउन १५ जनालाई हाउस वायरिङको तालिम दिएको वडाध्यक्ष राईले बताए ।
तालिम लिएका युवा पनि अहिले व्यावसायिक बन्दै गएको उनको भनाइ छ । गाउँमा नै विद्युत् विस्तारको काम भइरहेकोले उनीहरुले त्यही काम गरेर आम्दानी लिन थालेको अध्यक्ष राईले जानकारी दिए ।
‘आयआर्जनसँग जोडिन सीप अपरिहार्य छ ।’ उनले भने, ‘सीप लिएका युवालाई गाउँघरमा नै काम भ्याइनभ्याइ छ । सीपको कारण स्थानीयवासीले केही आम्दानी गरिरहेका छन् । तालिम लिएकालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्दै आएका छौँ ।’
भावी दिनमा पनि सीपमूलक तालिमलाई निरन्तरता दिइने उनको भनाइ छ । वडामा आउने बजेटले मात्र धेरै काम गर्न सम्भव नभएकाले विभिन्न निकायसँगको समन्वय तथा सहकार्यमा काम गरिरहेको वडाध्यक्ष राईको भनाइ छ ।
आफ्नो वडा भौगोलिक रुपमा विकट भए पनि उर्वरभूमि भएकाले कृषिको विकासमा पनि योजना बनाएर काम गरिरहेको उनको भनाइ छ । वडाले तालिम दिएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको वडाध्यक्ष राईले बताए ।
‘वडामा त्यति धेरै विकास बजेट त आउँदैन’ वडाध्यक्ष राईले भने, ‘बजेटको सीमा सीमित भए पनि त्यसलाई अधिकतम उपयोग गर्ने कोसिस गरिरहेका छौँ । हामीले स्थानीयवासीको दैनिक जीवनमा परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यो वडालाई नमुना वडा बनाउने मेरो लक्ष्य छ ।’