बराहक्षेत्र २ स्थित बालचन खोरिया कृषि सहकारी संस्थाले २५ लाख रुपैयाँ बढी बचत सङ्कलन गरेको छ ।
शुक्रबार सम्पन्न १० औं साधारणसभामा सहकारीका अध्यक्ष प्रेम खड्काले गत आर्थिक वर्षको २० लाख ७४ हजार ४ सय ८३ रुपैयाँ र आव २०७९–८० को ५ लाख १५ हजार ५ सय ७३ रुपैयाँ गरी कुल २५ लाख ९० हजार ५६ रुपैयाँ सङ्कलन गरिएको जानकारी दिए ।
सहकारीले सेयर सदस्यलाई चालू आर्थिक वर्षमा २३ लाख २२ हजार ५ रुपैयाँ ऋण लगानी गरेको छ भने २७ लाख ८१ हजार ६ सय ७० रुपैयाँ कर्जा असुली गरेको अध्यक्ष खड्काले साधारण सभामा विवरण प्रस्तुत गरे । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आगामी आवको लागि ७ वटा कार्य योजना रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश सांसद ममता तामाङले बालचान खोरिया कृषि सहकारीले स्थानीय किसानको जीवनस्तर उकास्न सानै भए पनि प्रयास गरिरहेको बताइन् । सहकारीको सह्राना गर्दै सांसद तामाङले खुसी व्यक्त गरिन् । वराहक्षेत्रको कृषि निर्भरता बढाउन स्थानीय कृषकलाई आधुनिक मेसिनरी सेवा सुविधा, बीउ–बिजन र प्राविधिक उपलब्धता बढाइनु पर्ने उनले बताइन् । सहकारीका तर्फबाट सांसद तामाङले उत्कृष्ट ऋणि साइमान तामाङ र फूल व्यवसायी तोरण मगरलाई सम्मान गरिन् ।
साधारण सभामा बराहक्षेत्र १ का वडाध्यक्ष किसन थापा, वडा २ का अध्यक्ष होमप्रसाद गौतम, नगर सहकारी शाखा प्रमुख मातृका तिवारी, बालचन जल उपभोक्ता समिति अध्यक्ष चन्द्र थापा मगर, ऋण समिति संयोजक लङ्कमान बिक, सहकारीका पूर्वअध्यक्षद्वय जयमङ्गल भट्टराई र तुलसी पाण्डे तथा स्थानीय सहकारी संस्थाका प्रतिनिधिको उपस्थिति थियो । स्थानीय लाफा कृषि फर्म सञ्चालक नरेश राना मगरले सभामा स्वागत मन्तव्य दिएका थिए भने सभाको सञ्चालन अशोक मगरले गरेका थिए ।