विजयपुर । नेपाल शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल (ई–क्यान) को यही पुस ९ गते हुने अधिवेशनमा भीमबहादुर लिङ्थेपले उम्मेदवारी घोषणा गरेका छन् ।

धरानमा पत्रकार सम्मेलन गर्दै लिङ्थेपले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले १५ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरे । आर्थिक रूपमा सबल बनाई पारदर्र्शी र सक्षम बनाउने, वेबसाइट सञ्चालन गर्ने, सचिवालय व्यवस्थित गर्ने, क्यालेन्डरअनुसारका कार्यक्रम गर्ने, विश्वका विश्वविद्यालयहरूसँग शैक्षिक सहकार्यका लागि पहल गर्ने रहेको छ ।

शैक्षिक परामर्श व्यवसायीहरूबीच व्यावसायिक हकअधिकार र समस्याहरूका बारेमा नियमित छलफल गरी समाधान गर्ने, नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने, सदस्य सङ्ख्या वृद्धि गर्ने, बैङ्क तथा वित्तीय संस्थासँग सहकार्य गरी सुलभ व्यवसाय कर्जाको लागि पहल गर्ने, ई–क्यान पूर्वाञ्चलको आफ्नै अक्षयकोष स्थापना गरी गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, व्यवसायीको म्यादी जीवन बिमा गराउने, ई–क्यानको केन्द्र तथा अन्य शाखाहरूसँग नियमित सहकार्य, समन्वय गर्नेलगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन् । पूर्वाञ्चल ई–क्यानमा २४ सदस्य संस्था आबद्ध छन् भने केन्द्रीय तहमा हालसम्म ५ सय ३० जना सदस्य रहेका छन् ।