आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानको ११ औँ पुण्यतिथिमा विभिन्न व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानले मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहलाई सामुदायिक स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान–पत्रसहित दोसल्ला ओढाई सम्मानित गरेको छ । त्यस्तै पत्रकारिता क्षेत्रबाट रश्मी प्रधानलाई सम्मानित गरिएको छ ।

उनलाई सम्मान पत्रसहित पाँच हजार पाँच सय रुपैयाँले सम्मानित गरिएको प्रतिष्ठानका सचिव मोहन श्रेष्ठले जानकारी दिए । यस्तै कार्यक्रममा ङाग्युर डोल्मा छ्योलिङ गोन्पा (आनी गुम्बा) निर्माणका लागि १५ हजार पाँच सय रुपैयाँ नगद सहयोग गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि नेवाः देयः दबूकी केन्द्रीय सल्लाहकार सरला कायस्थ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष महेशकुमार प्रधानलगायतले सम्मान–पत्रसहित नगद प्रदान गरे ।

यस्तै आमा चन्द्रकुमारी प्रधान स्मृति छात्रवृत्तिबाट शारदा नमुना मा.वि.की अनुस्का राई, किरातेश्वरकी प्रतिमा कार्की, सहिद स्कुलकी सन्ध्या राई, पब्लिक हाईस्कुलका जनम विश्वकर्मालाई जनही नगद ५ हजार पाँच सय रुपैयाँसहितको छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष महेशकुमार प्रधानले जानकारी दिए ।

यस्तै स्पाइनल कर्ड इन्जुरी भएका पुण्यप्रसाद प्याकुरेलका छोराछोरीका लागि शैक्षिक सामग्री खरिद गर्न नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । उक्त नगद रकम छोरी अनिषा र ज्वाइँ सनिज ताम्राकारको तर्फबाट प्राप्त भएको अध्यक्ष प्रधानले जानकारी दिए ।

यस्तै सरस्वती आधारभूत विद्यालयको बालविकास कक्षा कोठाका लागि कार्पेट र एउटा पोडियम वितरण गरिएको छ । कार्यक्रममा सम्मानितका तर्फबाट डा. प्रशान्त साहले मन्तव्य दिएका थिए । कार्यक्रममा धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्य, सिद्धि नेवा परिषद्का अध्यक्ष राजविमल श्रेष्ठलगायत उपस्थित थिए ।