वराहक्षेत्र । कोशी प्रदेशकी सांसद ममता तामाङ्ग मगरले आदिवासीको भाषा र लिपि विकासको लागि स्थानीय सरकारले ध्यान नदिइएको बताएकी छन् ।

मकर सङ्क्रान्तीको अवसरमा नेपाल मगर सङ्घ वराहक्षेत्र–१ र २ ले संयुक्त रूपमा आयोजना गरेको ‘मुन्हाम सारलेस’मा बोल्दै प्रमुख अतिथि रहेकी मगरले आफूले संसद्मा आदिवासीको भाषा लिपि तथा जातीय उत्थानको लागि कुरा उठाउँदै आएको बताइन् । उनले स्थानीय निकायबाट प्रदेशमा यस्ता खालका योजना माग नभएको बताइन् । उनले बजेट अभावमा नगरपालिकाको आदिवासी जनजातिको जातीय र सांस्कृतिक र भाषिक विकास हुन नसकेको बताइन् । यसको लागि मगरलगायत सम्पूर्ण आदिवासीले राजनीतिक रूपमा जागरुक हुनुपर्ने र आफ्नो लागि आफै लागी पर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा सङ्घीय सरकारअन्तर्गत रहेको बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरेले साबिक वराहक्षेत्रको मगर सङ्घको लागि डेढ लाख छुट्याएको जानकारी दिएको मगर सङ्घ वराहक्षेत्रका नगर उपाध्यक्ष नरेश मगरले बताए । कार्यक्रममा मगर बालबालिकाले लोकनृत्य मारुनी, कौडा, ख्याली प्रस्तुत गरेका थिए भने अतिथिहरूले हुर्रा नाचेका थिए । कार्यक्रम प्रताप लुङ्गेली मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।